शीत लहरले मधेशको जनजीवन कष्टकर

846
Shares

वीरगन्ज।

पर्सा र बारासहितका तराई क्षेत्रहरूमा चिसो अत्यधिक बढेसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ ।अत्याधिक चिसोका कारण विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा मुटुरोगीहरू चिसोको उच्च जोखिममा परेका छन् । चिकित्सकहरूले यी संवेदनशील समूहलाई सकेसम्म तातो स्थानमा बस्न, तातो पानी पिउन र चिसोबाट बच्न विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

तर, चिकित्सकीय सुझावअनुसार आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्थामा पनि स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो बढ्दै गएको छ । चिसो छल्न नसक्दा धेरै वृद्धवृद्धा खुला ठाउँमा आगो बालेर ‘घुर’ तापेर दिनरात कटाउन बाध्य छन् । यहाँका दलित र गरिब परिवारमा न्यानो कपडाको अभावमा रातभरि घरको आँगनमा पराल र घुस्यान बालेर आगो ताप्ने गरेका छन । दाउराको समेत अभाव भएपछि सर्वसाधारणले जाडोबाट जोगिन ‘घुर’ को सहारा लिनुपरेको हो ।

नागरिकहरुलाई चिसोबाट जोगाउनभन्दै पालिका तह र वडा कार्यालयहरुबाट हरेक वर्ष करोडौँ रुपैयाँ बजेट विनियोजन हुने गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन नदेखिएको स्थानीयको आरोप छ । तीन वर्ष बितिसक्दा पनि धोबिनी गाउँपालिकामा उल्लेखनीय विकास नदेखिएको भन्दै एक स्थानीयले नाम उल्लेख गर्ने सर्तमा भने, “बजेट र योजना भएको सुनिन्छ, तर विकास र सुविधा आफ्ना मान्छेका लागि मात्र भएको देखिन्छ ।”

त्यस्तै, वन उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरूले काठ–दाउरा आफ्नै प्रयोजनका लागि मात्र लैजाँने गरेको आरोप पनि स्थानीयले लगाएका छन् ।
चिसो बढ्दा चोक–चौराहामा आगो बाल्ने व्यवस्था, गरिब तथा वृद्धवृद्धालाई कम्बल र दाउरा वितरण गर्ने जस्ता न्यूनतम राहत कार्यक्रम संचालन गर्नेतर्फ समेत जनप्रतिनिधिहरूले चासो नदेखाएको उनीहरूको गुनासो छ ।

स्थानीयहरूका अनुसार चुनावको बेला मात्र जनप्रतिनिधिहरू घरदैलोमा पुगेर समस्या सुन्ने गर्छन्, तर जाडोको कठ्याङ्ग्रिदो समयमा गरिब, असहाय तथा वृद्धवृद्धाको पीडातर्फ कसैको ध्यान पुग्दैन । हरेक वर्ष जाडो याममा दाउरा उपलब्ध गराउने आश्वासन मात्र आउने र वास्तविक व्यवस्थापन नहुने प्रवृत्ति दोहोरिँदै आएको स्थानीयले बताएका छन् ।
चिसो बढ्दै जाँदा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न र दीर्घकालीन समाधानको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यसैबीच बारा, पर्सासहित मध्यतराईका जिल्लाहरूमा शीतलहरका कारण जनजीवन प्रभावित भएपछि अधिकांश पालिकाहरूले विद्यालय बन्द गरेका छन् भने नियमित कामकाजमा समेत असर परेको छ । पर्साको वीरगन्ज महानगरपालिका सहितले सूचना नै जारी गरेर बिद्यालय बन्द गरेका छन्। वीरगञ्ज महानगरपालिका लगायत अधिकांश पालिकाका विद्यालयहरुमा जाडो बिदा दिइएको छ । पालिकाहरुले स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा मिलाएका हुन ।बाक्लो हुस्सु सँगैको शीतलहरले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । बारा र पर्सामा पुस १ गतेदेखि नै शीतलहर सुरु भएको हो । दिउँसो समेत कुहिरो नहटेपछि बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्याला मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन् ।