मानिसको जीवन केवल बितेको समयको परिमाण मात्र होइन, कति वर्ष बाँचियो भन्ने तथ्य आफैँमा ठूलो कुरा होइन । ती वर्षहरू कसरी बिते, ती समय कुन उद्देश्यका लागि खर्च भए, के–कस्ता कर्महरू गरिए र ती कर्मले जीवन तथा समाजमा कस्तो छाप छोडे भन्ने प्रश्न नै जीवनको वास्तविक मूल्याङ्कन हो । समय आफैँ निष्पक्ष हुन्छ– न उसमा अर्थ हुन्छ, न निरर्थकता । न त पूर्वाग्रह हुन्छ, न समर्थन । तर समयभित्र गरिएका कर्महरूले नै त्यसलाई अर्थपूर्ण वा शून्य बनाउँछन् । आजको आधुनिक समाजमा यही सत्य सबैभन्दा बढी ओझेलमा परेको छ । मानिसहरू यति धेरै व्यस्त छन् कि उनीहरूलाई आफ्नै जीवनमाथि एकछिन् गहिरिएर सोच्नेसमेत फुर्सद छैन ।
आज कोही कार्यालयको काममा अल्झिएका छन् । कोही व्यापारको दौडधुपमा थकित छन् । कोही सामाजिक वा राजनीतिक गतिविधिमा देखिने गरी व्यस्त छन् त कोही सामाजिक सञ्जालको निरन्तर बहावमा बगिरहेका छन् । बिहान उठ्नेबित्तिकै मोबाइलको स्क्रिन हेर्ने बानी, दिनभर सूचना, हल्ला र प्रतिक्रिया सङ्कलन गर्ने क्रम र बेलुकीसम्म मानसिक थकान– यही हो आजका धेरै मानिसको सामान्य जीवनशैली । बाहिरबाट हेर्दा सबै मानिस कुनै न कुनै काममा मग्न देखिन्छन् । मानौँ उनीहरू कुनै ठूलो उपलब्धिको खोजीमा दौडिरहेका छन् । तर जब ती कामहरूको प्रकृति, उद्देश्य र परिणाम गहिरोसँग विश्लेषण गरिन्छ, एउटा पीडादायी यथार्थ उजागर हुन्छ– मानिसको अधिकांश समय र ऊर्जा त्यस्ता गतिविधिमा खर्च भइरहेको छ, जसले न व्यक्तिगत जीवनलाई समृद्ध बनाउँछ, न समाजलाई सकारात्मक दिशातर्फ लैजान सक्छ ।
व्यस्तताको यही बाहिरी चमकले मानिसलाई झुटो आत्मसन्तुष्टि दिन्छ । ‘म धेरै व्यस्त छु’ भन्नु आजको समाजमा मेहनत र जिम्मेवारीको प्रमाणजस्तै मानिन थालेको छ । तर यो व्यस्तता धेरैजसो खोक्रो हुन्छ । मानिसहरू काम गरिरहेका हुन्छन्, तर ती कामहरूले उनीहरूको आत्मालाई स्पर्श गर्दैनन् । बाहिर सक्रियता, भित्र रिक्तता– यही हो व्यस्त जीवनको सबैभन्दा ठूलो विडम्बना । यसरी मानिस व्यस्तताको भ्रममा बाँचिरहन्छ र त्यही भ्रमलाई जीवनको उपलब्धि ठान्न बाध्य हुन्छ । समय बित्छ, उमेर बढ्छ, तर जीवनभित्रको अर्थ विस्तार हुँदैन ।
हाम्रो समाजमा दैनिक देखिने चियापसल संस्कृतिले यो समस्यालाई अत्यन्त जीवन्तरूपमा देखाउँछ । बिहान सबेरैदेखि साँझसम्म चियापसलहरू बहसका केन्द्र बन्छन् । हातमा चियाको कप, मुखमा टिप्पणी र विषय– देशको राजनीति । नेताहरूको चरित्र, सरकारको अक्षमता, भ्रष्टाचारको विवरण, संसद्को विफलता, चुनावी समीकरण, नयाँ पार्टीहरूको गतिविधि, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन– सबै विषयमा मानिसहरू आत्मविश्वास, क्रोध र जोशका साथ बहस गर्छन् । त्यो दृश्य देख्दा लाग्छ– मानौँ देशको भविष्य यिनै व्यक्तिहरूको विश्लेषण र निष्कर्षमा निर्भर छ ।
तर यथार्थ के हो भने, त्यो बहस केवल आवाजको आवेग हो । समय कटनी हो । त्यसबाट न कुनै नीति जन्मिन्छ, न कुनै व्यावहारिक परिवर्तन । बहस सकिएपछि न देशको दिशा बदलिन्छ, न बहस गर्ने व्यक्तिको व्यक्तिगत जीवनमा कुनै सुधार आउँछ । उनीहरू उही आर्थिक समस्या, उही पारिवारिक तनाव र उही निराशा बोकेर आ–आफ्ना घर फर्किन्छन् । भोलिपल्ट फेरि उही चियापसल, उही राजनीतिक बहस, उही नेतामाथि दोषारोपण । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म । वास्तवमा, यो व्यक्तिगत जीवनको खालीपनलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दाको आवरणले ढाक्ने अभ्यास मात्र हो । ‘म देश–विदेशका ठूला विषयमा बोल्दै छु’ भन्ने भ्रमले मानिसलाई केही समय आत्मसन्तुष्टि दिन्छ, तर त्यो अर्थ क्षणिक, सतही र खोक्रो हुन्छ ।
यसरी हेर्दा, दिनभर तास खेलेर समय बिताउने व्यक्ति र दिनभर चियापसलमा ‘देश बर्बाद भयो’ भनेर निष्कर्ष सुनाउने व्यक्तिबीच नतिजाका हिसाबले खासै फरक रहँदैन । दुवैले समय बिताए, दुवैले ऊर्जा खर्च गरे, तर दुवैले जीवनमा केही पनि थप्न सकेनन् । फरक केवल यत्ति हो– एकको व्यस्तता खुलेर देखिन्छ, अर्कोको व्यस्तता ‘गम्भीर’ देखिन्छ ।
उपलब्धिविहीन गतिविधिहरू चियापसलको गफमा मात्र सीमित छैनन् । केही क्रियाकलाप त बाहिरबाट हेर्दा अत्यन्तै गम्भीर, औपचारिक र महत्वाकाङ्क्षी देखिन्छन् । शुभकामना कार्यक्रम, बधाई कार्यक्रम, धन्यवाद कार्यक्रम, प्रवचन कार्यक्रम, निर्देशन कार्यक्रम, अन्तरक्रिया, गोष्ठी, चियापान समारोह, पार्टी प्यालेसमा आयोजित वनभोज– यी सबै गतिविधिले आयोजकहरूलाई ‘हामी ठुलै काम गरिरहेका छौँ’ भन्ने भान हुन सक्छ, किनभने उल्लिखित काम सफल पार्न पनि जनशक्ति र मिहिनेत त लाग्छ नै । त्यस्तै सहभागीहरूलाई पनि ‘हामी ठुलै मान्छे रहेछौँ, त्यसैले यस्ता कार्यक्रमहरूमा आमन्त्रित हुन पाएर ठुलै मान पाइरहेका छौँ’ भन्ने अनुभूति दिन्छन् । तर जब यी कार्यक्रमहरूको वास्तविक उपलब्धि नाप्न खोजिन्छ, प्रायः हात खाली नै रहन्छ ।
धेरै राजनीतिक बैठकहरू केवल बैठक बस्नकै लागि बसिन्छन्, समय बिताउन बसिन्छन्, फुर्सद भएकाले बसिन्छन् । त्यहाँ एजेन्डा पढिन्छ, प्रस्ताव राखिन्छ, छलफल गरिन्छ र अन्त्यमा ‘अर्को बैठकमा निर्णय गरिन्छ’ भनेर टुङ्ग्याइन्छ । कतिपय बैठकमा उही चियागफकै कुरा आउँछन् । आफ्नो पार्टीकोे प्रशंसा र अन्य पार्टीको निन्दा गर्नु त छँदै छ । बैठकपछि फोटो खिचिन्छ, सामाजिक सञ्जालमा पोस्ट हुन्छ र सहभागीहरू आत्मसन्तुष्ट भएर घर फर्किन्छन् । तर व्यावहारिक तहमा भने त्यस्ता बैठक हजारौँ बसे पनि केही परिवर्तन हुँदैन । यसरी अनेक बैठक र कार्यक्रमहरूले व्यस्तताको अनुभूति त दिन्छन्, तर उपलब्धिको अनुभूति दिन असफल हुन्छन् ।
यस्तै, विभिन्न स्मृति दिवस, जयन्ती, सम्मान समारोह र श्रद्धाञ्जलि कार्यक्रमहरूको अवस्था पनि उस्तै छ । फूलमाला, ब्यानर, सजावट, लामो भाषण र तालीको गडगडाहटले कार्यक्रमलाई भव्य बनाइन्छ । तर कार्यक्रम सकिएपछि ती शब्द र भावना व्यवहारमा रूपान्तरण हुँदैनन् । प्रेरणाका सम्भावित बीज तुरुन्तै सुक्छन् । व्यक्तिहरू आफ्नै पुरानै सोच, बानी र व्यवहारमा फर्किन्छन् । यसरी यी कार्यक्रमहरूले क्षणिक भावनात्मक उचाइ त दिन सक्छन्, तर स्थायी सामाजिक परिवर्तन ल्याउन असफल हुन्छन् ।
राजनीतिक भीड, नाराबाजी, जुलुस र प्रचारप्रसार पनि यही श्रेणीमा पर्छन् । ठूलो मञ्च, चम्किला बत्ती, लाउडस्पिकर, नयाँ–नयाँ नारा र ओजस्वी भाषणहरूले क्षणिक उत्साह पैदा गर्छन् । तर भीड हटेपछि ताली रोकिन्छ र वास्तविकता फेरि पुरानै ठाउँमा उभिन्छ । महिनौँको तयारीपछि गरिएको कार्यक्रमले समाजमा के परिवर्तन गरायो भन्ने प्रश्नको उत्तर प्रायः निराशाजनक नै हुन्छ ।
अब मूल प्रश्न उठ्छ– मानिसहरू किन यस्ता उपलब्धिविहीन कर्ममा आफूलाई निरन्तर व्यस्त राख्छन् ? यसको उत्तर गहिरो रूपमा मानव मनोविज्ञानसँग जोडिएको छ । मानिस आत्मविश्लेषणबाट डराउँछ । किनकि आत्मविश्लेषणले जीवनका कमजोरी, अपूर्णता, असफलता र उद्देश्यहीनता उजागर गरिदिन्छ । जब मानिससँग खाली समय हुन्छ, ऊ असहज प्रश्नहरूसँग जुध्न थाल्छ– ‘मैले जीवनमा के हासिल गरेँ ?’, ‘म कुन दिशातिर जाँदैछु ?’, ‘म आफ्नो क्षमतालाई सही ठाउँमा प्रयोग गरिरहेको छु कि छैन ?’ यी प्रश्नहरूले मानिसलाई मानसिक रूपमा अस्थिर बनाउँछन् ।
त्यसैले कतिपय मानिसहरू ती प्रश्नहरूबाट भाग्न पनि व्यस्तताको सहारा लिन्छन् । सामाजिक संस्कारसँग जोडिएका क्रियाकलापहरू– बिहा, व्रतबन्ध, पूजा, वार्षिकमा त आफू पनि जानै प¥यो, अरूलाई पनि बोलाउनै प¥यो । किनभने ती हाम्रा दैनिक जीवनमा अभिन्न छन् । संस्कारअनुसार तिनलाई पालना गर्नै पर्छ । तर नगर्दा हुने कुरालाई पनि हामीले अनिवार्यजस्तै बनाएका छौँ । कुनै दिन चियापान कार्यक्रममा रमाउनुप¥यो । कहिले भोजभतेरमा सहभागी हुनुप¥यो । केही नभए, ‘आज फलाना ठाउँमा जम्मा भएर सामूहिक खाजा खाने’ कार्यक्रमको बन्दोबस्त गर्नसमेत हामी पछि पर्दैनौँ ।
अनेक थरी कार्यक्रममा गयो । अनावश्यक बहस ग¥यो । के, किन, कहिले, कसरीमा अरूकै चासो राख्दै समय बितायो । अरूहरूका बारेमा थाहा पायो । भीडमा मिसियो । तर बुझ्नुपर्ने त आफैँलाई थियो । हामी आफैँसँग संवाद गर्नचाहिँ चाहँदैनौँ । यसरी व्यस्तता आधुनिक समाजको सबैभन्दा सुरक्षित पलायनवाद बनेको छ । मानिस काम गर्छ, तर त्यो कामले उसलाई भित्रैदेखि समृद्ध बनाउँदैन । कामको मात्रा बढ्छ, तर अर्थ घट्दै जान्छ ।
यस अवस्थाबाट मुक्त हुन उपलब्धिपूर्ण कामको संस्कृतिको विकास अत्यन्त आवश्यक छ । उपलब्धिपूर्ण काम भन्नाले अनिवार्यरूपमा ठूलो सफलता, प्रसिद्धि वा पद प्राप्त गर्नु मात्र होइन । बरु त्यही काम हो, जसले कसैको जीवनमा सानो भए पनि सकारात्मक परिवर्तन ल्याउँछ । नयाँ सीप सिक्नु, राम्रो पुस्तक पढ्नु, आफ्नो पेसागत काममा सुधार ल्याउनु, इमानदारीपूर्वक श्रम गर्नु, समाजका लागि सानो योगदान दिनु– यी सबै उपलब्धिपूर्ण कर्म हुन् ।
सडकको फोहोर टिपेर फाल्नु, विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई सहयोग गर्नु, अनाथालयमा सहयोग गर्नु, मानव सेवा आश्रममा गएर त्यहाँका दयनीय मानवहरूलाई खुवाउनु, वृद्धाश्रममा गएर केही समय बिताउनु, आफ्नो ज्ञान र सीप प्रयोग गरेर कसैको समस्या समाधान गर्नु– यी काम साना देखिए पनि गहिरो अर्थ बोकेका हुन्छन् । यिनले आत्मसन्तुष्टि मात्र होइन, समाजप्रति जिम्मेवारीबोध र मानवीय संवेदना पनि विकास गर्छन् । जब नागरिकहरूले दैनिक जीवनमा यस्ता स–साना उपलब्धिपूर्ण गतिविधिहरूलाई प्राथमिकता दिन थाल्छन्, समाज आफैँ रूपान्तरणतर्फ अघि बढ्छ । एकले पुस्तक दान गर्छ, अर्कोले समय दिन्छ, तेस्रोले सीप प्रयोग गर्छ– यिनै साना कर्महरूको सामूहिक प्रभावले ठूलो परिवर्तन सम्भव हुन्छ ।
अन्ततः जीवनको मूल्याङ्कन हामीले कति गफ ग¥यौँ, कति बैठक बस्यौँ, कति नाराबाजी ग¥यौँ वा कति ताली पिट्यौँ भन्ने आधारमा हुँदैन । जीवनको मूल्याङ्कन त्यसले गर्छ– हामीले सीमित समय र ऊर्जा प्रयोग गरेर संसारमा कति सकारात्मक, मूर्त र स्थायी परिवर्तन ल्यायौँ । उपलब्धिविहीन कर्मको भारी बिसाएर सार्थक, परिणाममुखी र प्रभावकारी कर्मतर्फ उन्मुख हुनु नै आजको मानिसको सबैभन्दा ठूलो चुनौती र अवसर हो । व्यस्त हुनु सजिलो छ, तर उपलब्धिपूर्ण हुनु साहसको काम हो । काम धेरै गर्नु महत्वपूर्ण होइन– कसरी, किन र कसका लागि गरियो भन्ने नै जीवनको सर्वोच्च उपलब्धि हो ।











प्रतिक्रिया