काठमाडौं ।
नेपालमा लगानी विस्तार गर्न अनिश्चित संक्रमणकाल, नियामक संरचनाको विखण्डन, धेरै सरकारी निकायको संलग्नता, स्थानीय तहबीचको दोहोरोपन, स्पष्ट उत्तरदायित्वको अभाव र सम्झौता कार्यान्वयनको कमजोरी प्रमुख अवरोधका रूपमा रहेको नेपाल विश्वविद्यालयका कुलपति तथा एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. बिन्दु लोहनीले बताउनुभएको छ ।
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बर (निक्की) को ३१औँ वार्षिक साधारण सभामा ‘नेपालमा भारतीय लगानी विस्तारका लागि प्रणालीगत सुधार’ विषयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका छ प्रमुख अवरोध औँल्याउनुभयो । उहाँले लगानी प्रवद्र्धनका लागि सरकारले ढोकामा बसेर रोक्ने “द्वारपाल” नभई लगानीकर्ताको ‘साझेदार’ का रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
‘स्वीकृतिबाट सहजीकरणतर्फ जान सोचमा परिवर्तन आवश्यक छ,’ डा. लोहनीले भन्नुभयो–‘लगानीकर्ता एक्लै आउँदैनन्, उनीहरूसँग प्रणाली पनि आउँछ ।’ नीतिगत सुनिश्चितता, छिटोछरितो सेवा र विश्वसनीयता कायम गर्न नसके अनिश्चितताका कारण लगानी अन्यत्र सर्ने चेतावनी पनि उहाँले दिए। साथै, उहाँले निक्कीलाई सरकारसँग मिलेर संरचनागत सुधारमा सघाउन आग्रह गर्नुभयो ।
लालकृष्ण केसीको सहजीकरणमा ‘लगानी तथा सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको सहकार्य’ विषयक प्यानल सत्रमा नेपाली निजी क्षेत्रद्वारा विद्युत् व्यापारको सम्भावना र अवसरबारे छलफल गरिएको थियो ।कार्यक्रममा अरुणाचल प्रदेश पावर कर्पोरेसनकी प्रबन्ध निर्देशक नेहा अग्रवालले भारतभित्र तथा देशहरूबीच हुने विद्युत् व्यापारको अनुभव साझा गर्नुभयो । विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् व्यापारसम्बन्धी कानुनी प्रावधान र पछिल्ला नीतिगत विकासबारे जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले विद्युत् व्यापारमा निजी क्षेत्रलाई स्वागत गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले नेपालमा भारतीय लगानी, विशेषगरी जलविद्युत् क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै नेपाली विद्युत् उत्पादकहरूलाई जनवरीमा भारतमा आयोजना हुने ‘इन्डिया एनर्जी वीक’ मा सहभागी हुन आमन्त्रण गरे।
नेपालका लागि भारतका पूर्व राजदूत मनजीव सिंह पुरीले नेपाल ठूलो सम्भावना बोकेको देश भएको उल्लेख गर्दै बजार पहिचान र नयाँ निजी क्षेत्रका खेलाडी विकास गर्नुपर्ने आवश्यकता औँल्याए भने भारतीय दूतावासका उप–मिशन प्रमुख डा. राकेश पाण्डेले नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढीकरणका लागि दूतावासले थालेका पहलहरूबारे जानकारी गराए ।
सत्रको उद्घाटन गर्दै अर्थमन्त्री रामेश्वर प्रसाद खनालले निजी क्षेत्रलाई बजार सञ्चालनको यथार्थ बुझेर बजार पहुँच विस्तार गर्न सुझाव दिनुभयो । उहाँले निक्कीले नेपाली र भारतीय लगानीकर्ताबीच अझ सुदृढ सम्बन्ध निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो
अर्थमन्त्री खनालले स्थानीय सीप हस्तान्तरण, व्यावसायीकरणको सम्भावना र महिला सशक्तीकरण’ शीर्षकको बेसलाइन सर्वेक्षण प्रतिवेदन पनि सार्वजनिक गर्नुभउो । प्रतिवेदनले तितौराको निर्यात सम्भावना औँल्याउँदै महिला नेतृत्वका साना, मझौला तथा सूक्ष्म उद्योग प्रवद्र्धनका उपायहरू सिफारिस गरेको छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी बढ्दै गएको जानकारी गराउनुभयो । सभामा निक्की अध्यक्ष सुनील केसीले गत वर्षका गतिविधि र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल–भारत द्विपक्षीय व्यापार र आर्थिक सम्बन्ध सुदृढीकरणमा निक्कीको भूमिकाको चर्चा गर्नुभएको थियो ।











प्रतिक्रिया