काठमाडौं ।
सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
आयोगका काम नसकिएको भन्दै अध्यक्ष गौरीबहादुर कार्कीले म्याद थपका लागि गरेको आग्रहअनुसार सरकारले सो निर्णय गरेको थियो । गत असोज ५ गते गठित सो आयोगको म्याद पुस ९ गते तोकिएको थियो । त्यसै गरी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
२०७८ को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न लागिएको प्रवक्ता खरेलले बताउनुभयो ।
त्यस्तै, बैठकले विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्षमाथिका व्यक्तिहरूलाई राख्नका लागि नुवाकोटको निर्माण भएको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।











प्रतिक्रिया