एमाले महाधिवेशन: मतदानको समय थपियो, रातभर मतदान जारी रहने

साँझ ८ बजेसम्म एक हजार १०५ मत खस्यो


काठमाडौँ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ। मतदानको समय बिहीबार बिहान ७ बजेसम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ ।

आयोगको उपाध्यक्षमा सानुराज पोखरेलले बुधबार साँझ ८ बजेसम्म एक हजार १०५ मत खसेको र मतदान रातभर जारी रहने जानकारी दिए । उनले कसैलाई पनि मतदानबाट बन्चित नगरिने पनि स्पष्ट पारे ।

मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन् ।

विद्युतीय मतदान प्रणाली भए पनि विद्युतीय मतदानमा अभ्यस्त नभएका मतदातालाई मत दिनका लागि कतिपयलाई दुई घण्टासम्म लागेको छ । बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरु भएको हो।