पाल्पा जीप दुर्घटना अपडेट : तीनमध्ये दुई जनाको सनाखत


पाल्पा।

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा आज भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार निस्दी–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाम्चाको पहिचान खुलेको हो। तेस्रो एक महिलाको शवको पहिचान भने हुन बाँकी छ।

दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरूमा निस्दी–४ लामेदमारका ९ वर्षीय नेवराज खाम्चा, ५ वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहादुर सुनारी, ७२ वर्षीया भूमिसरा सुनारी, ४१ वर्षीय सुन्दर सुनार, उनका १० वर्षीय छोरा लविस सुनार, ५ वर्षीय छोरी प्रिन्सा सुनार र २८ वर्षीया मीनाकुमारी सुनारी रहेका छन्।
घाइतेमध्ये चार जनाको उपचार मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा तथा चार जनाको चितवन मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप यात्रु ओराल्दै गर्दा रोकिराखेको अवस्थामा आफैँ व्याक भएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। जीप सडकबाट करिब १,२०० मिटर तल खसेको थियो।

सामान्य घाइते अवस्थामा रहेका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।