काठमाडौँ।
नेपाल सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच ( युएचसी) २०२५ को अवसरमा सबै नागरिकलाई आर्थिक कठिनाइ बिना गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्यलाई अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै समतामूलक, पहुँचयोग्य र वित्तीयरूपमा सुरक्षित स्वास्थ्य सेवा आफ्नो प्रमुख राष्ट्रिय प्राथमिकता रहेको स्पष्ट पारेको हो ।
मन्त्रालयले यस वर्षको दिवस “स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा” भन्ने नाराका साथ मनाइँदै गरेको जानकारी दिएको छ । विज्ञप्तिमा स्वास्थ्य सेवा प्रवद्र्धनदेखि उपचार, पुनस्र्थापना र दीर्घकालीन हेरचाहसम्मको सम्पूर्ण स्वास्थ्य चक्रमा समान पहुँच सुनिश्चित गर्नु आजको अनिवार्य राज्य दायित्व भएको उल्लेख गरिएको छ ।
विज्ञप्ति अनुसार, सबै नागरिकलाई स्वास्थ्य सेवाको समान पहुँच दिलाउन सकेमा गरिबीको चक्र तोड्न, सामुदायिक स्वास्थ्यमा दीर्घ सुधार ल्याउन तथा जनस्वास्थ्य संकटको जोखिम घटाउन महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको ठहर छ । मन्त्रालयले संविधानले दिएको स्वास्थ्य अधिकारलाई व्यवहारमा रूपान्तरण गर्दै निःशुल्क आधारभूत स्वास्थ्य सेवा, आकस्मिक उपचार पहूँच, सुरक्षित मातृत्व तथा गुणस्तरीय सेवामा समान अधिकार सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
संघीय संरचना लागू भएपछि विविध समुदायका विशेष आवश्यकता पहिचान गर्दै राष्ट्रिय स्वास्थ्य नीति परिमार्जन गरिएको मन्त्रालयको दाबी छ । सेवा–विहीन जनसंख्यामा समतामूलक स्वास्थ्य सेवा विस्तार मुख्य प्राथमिकता रहेको पनि उल्लेख गरिएको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई व्यवहारिक रूपमा स्थापित गर्न मन्त्रालयले पछिल्ला वर्षमा अघि बढाएका कामलाई विज्ञप्तिमा प्रमुख उपलब्धिका रूपमा पेश गरिएको छ । ती कामहरूमा—सबै स्थानीय तहका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना, प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन,सातै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल विस्तार, ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी विस्तार, विपन्न नागरिकका लागि नसर्ने रोग उपचार कार्यक्रम, दुर्गम क्षेत्रमा टेलीमेडिसिन सेवा विस्तार जस्ता पहलहरू छन् ।
मन्त्रालयका अनुसार यी संरचनागत सुधारले ग्रामीण तथा दूरदराजका समुदायमा सरकारले सेवा पु¥याउने क्षमतामा उल्लेखनीय काम गरेको छ । त्यसैगरी उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न मन्त्रालयले स्वास्थ्य सेवा प्रदायकहरूको कार्यसम्पादन सुधार, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, विशेषज्ञ सेवाको विकास तथा विस्तार र नागरिकको वास्तविक आवश्यकता तथा भुक्तानी क्षमताका आधारमा स्वास्थ्य बीमा कार्यक्रम परिमार्जनलाई आगामी मुख्य प्राथमिकतामा राखेको छ ।
स्वास्थ्य क्षेत्रमा रहेको असमानता हटाउँदै सर्वव्यापी पहुँच हासिल गर्न राष्ट्रिय मार्गचित्र ( युएचसी रोडम्याप) तयार भइसकेको र सो अनुसार रणनीतिक कार्ययोजना चरणबद्ध कार्यान्वयन गरिने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच राष्ट्रिय लक्ष्य मात्र नभई सहकार्यको साझा प्रयास भएको उल्लेख गर्दै नीति−निर्माता, स्थानीय सरकार, कार्यक्रम सञ्चालक, शैक्षिक संस्था, विकास साझेदार तथा सर्वसाधारण सबैलाई यो अभियानमा हातेमालो गर्न आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, “सामाजिक–आर्थिक अवस्था जे भए पनि प्रत्येक नागरिकले सम्मानका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ । सर्वव्यापी पहुँच हासिल गर्नु दिगो विकासको पूर्वशर्त हो ।”
सरकारले स्वास्थ्य बीमा सुधार, मानव संसाधन सुदृढीकरण, सेवा प्रवाहको डिजिटल रूपान्तरण, आधारभूत संरचनाको स्तरोन्नति र जोखिममा बसेका समूहतर्फ लक्षित कार्यक्रमलाई आगामी वर्षहरूमा अझ सशक्त रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।











प्रतिक्रिया