नवनियुक्त चार मन्त्रीले लिए शपथ


काठमाडौँ।

नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री नियुक्त गरेका थिए।

श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

उनीहरूले शुक्रबार नै सिंहदरबारमा पदभार ग्रहण गर्ने भएका छन् । नयाँ चार मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।