–तेस्रो पटक अध्यक्ष बन्न सर्वसम्मतिको पहल थालेको छु
–कांग्रेस र हामी एमाले प्रतिनिधिसभा पुनःस्थापनामा लागेका छौं
–२४ भदौको घटना आन्दोलन नभएर विध्वंस
–विध्वंसको जगमा बनेको सरकारको भविष्य र औचित्य छैन
–प्रतिनिधिसभा पुनःस्थापना नभएमा शान्तिपूर्ण आन्दोलन थाल्छौं
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा नेपाल सरकार र जेन–जीका प्रतिनिधिका नाममा बुधबार भएको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिनुभएको छ ।
प्रेस चौतारी नेपालद्वारा बिहीबार राजधानीमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले यस प्रकारको सम्झौता गर्ने म्यान्डेट कहाँबाट पायो भन्ने प्रश्न गर्दै वर्तमान सरकार नागपञ्चमीमा घरमा कसैले गोबर लगाएर टाँसिदिएको नागजस्तै भएको टिप्पणी पनि गर्नुभयो । ‘विघटित संसद्लाई जनसमर्थन गुमाएको संसद् भनेर सम्झौतामा भनिएको छ । त्यो यथार्थ होइन ।
असान्दर्भिक र अराष्ट्रिय भावना बोकेकाहरूले परिस्थितिलाई विध्वंसका माध्यमबाट आफ्नो कब्जामा लिन खोजेका मात्रै हुन् । त्यसकारण यो सरकारलाई यस प्रकारको सम्झौता गर्ने जनादेश छैन ।’ उहाँले भन्नुभयो– ‘यो देशमा एमाले र नेपाली कांग्रेसजस्ता पुराना र ठूला राजनीतिक दलहरू सक्रिय छन् र आगामी फागुन २१ गतेपछि पनि नेपालको समय छ भन्ने सरकारले बुझ्नुपर्छ । त्यस कुरालाई हेक्का राखेर काम गर्न म आग्रह गर्दछु ।’
ओलीले जेन–जी र सरकारबीच भएको सहमति आफूहरूका लागि मान्य नभएको बताउनुभयो । पार्टीको आशन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रश्नमा उहाँले सहमति भएमा वा प्रतिनिधिहरूले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहन सक्ने बताउनुभयो । महाधिवेशनले यथास्थितिमा केही न केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गर्दै उहाँले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिरबाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले महाधिवेशबाट चुनिएको एमालेको नयाँ नेतृत्वले मुलुकमा पुनर्जागरण ल्याउने गरी सशक्त काम गर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वासमा आफू रहेको र कथंकदाचित पुनःस्थापना नभएमा लोकतन्त्रलाई बचाउन शान्तिपूर्ण आन्दोलन सुरु गरिने स्पष्ट पार्नुभयो । ‘हामी कुनै किसिमको तोडफोड, आगजनी र विध्वंसमा विश्वास गर्दैनौं, हामी शान्तिपूर्ण र सशक्त आन्दोलन गरेर लोकतन्त्र र संविधानको रक्षा गर्नेछौं’ –अध्यक्ष ओलीले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले एमाले लामो इतिहास भएको र जनतामा भिजेको पार्टी भएकाले यसले कुनै स्टन्टका लागि काम नगरी देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको बताउँदै उहाँले एमालेलाई सिध्यायौँ भन्नेहरूले एमाले हैसियत हेर्न शनिवार भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटन सत्रमा आउन आग्रह गर्नुभयो ।
अर्काे प्रश्नको जवाफमा उहाँले संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको र त्यसको परिणाम क्रमशः आउने जानकारी दिनुभयो । ‘हामीले तोरीको होइन, बकुल्लाको बीउ रोपेका छांै, त्यो टुसाउन र फल्न केही समय लाग्न सक्छ’ –ओलीले भन्नुभयो ।
देश र प्रणालीलाई नै बचाउनुपर्ने स्थिति आएमा शान्तिपूर्ण आन्दोलनमा उत्रने चेतावनी उहाँले दिनुभयो । अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कुनै कानुनी व्यवस्था नभएको बताउनुभयो । ‘त्यो आयोगमा बस्ने व्यक्तिहरू नै निष्पक्ष छैनन्, त्यसैले आयोगमा गएर बयान दिने कुरै हुँदैन’ –ओलीले भन्नुभयो ।
ओलीले २१ फागुनमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्नुभयो । तर, ढिलो चाँडो निर्वाचन हुने अवस्थामा एमाले र कांग्रेसले नै जित हासिल गर्ने र प्रमुख दलहरूले नै सरकार बनाउने उहाँको दाबी थियो । अध्यक्ष ओलीले २३ भदौको दिन १२ बजेसम्म जेन–जीको प्रदर्शन भएको र त्यसपछिका सबै कार्यहरू विध्वंसकारीको योजनाअनुसार भएकाले २३ गते १२ बजेपछि र २४ गतेको घटना आन्दोलन र क्रान्ति नभएर विध्वंस र उपद्रो भएको दाबी गर्नुभयो । त्यसैले जनताको भोटबाट नभएर विध्वंसको जगमा बनेको वर्तमान सरकारको कुनै आौचित्य नरहेको उहाँले स्पष्ट पार्नुभयो ।











प्रतिक्रिया