रास्वपाले फागुन २१ को निर्वाचन लक्षित वाचापत्र सुझाव सङ्कलन सुरु


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित वाचापत्र निर्माणका लागि आजबाट सुझाव सङ्कलन सुरु गरेको छ। उपसभापति डा. स्वर्णिम वाग्ले संयोजक रहेको केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संरचनाबाट सुझाव लिन भर्चुअल बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

डा. वाग्लेसँगै डा. अरनिको पाँडे, डा. नन्दन यादव र क्रान्तिशिखा धिताल कार्यदलमा रहेका छन्। आगामी निर्वाचनलाई लक्षित गरी रास्वपाले संगठन विस्तार, अधिवेशन, समानुपातिक उम्मेदवार आह्वान लगायतका गतिविधि तीव्र पारेको छ। अडिट समितिले प्रारम्भिक निर्वाचन व्यवस्थापन र उम्मेदवार छनोट प्रक्रिया तथ्यपरक ढङ्गले मूल्याङ्कन थालिसकेको जनाइएको छ।

त्यसैगरी, केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिम सञ्चालन गरिरहेको छ भने जिल्ला भेला, पूर्व–उम्मेदवारसँग छलफल र संगठन सुदृढीकरणका कार्यक्रम अघि बढाइएका छन्। निर्वाचन तयारीलाई व्यवस्थित बनाउन पार्टीले राजनीतिक अध्ययन, निर्वाचन रणनीति तथा सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ।