संसारमा विज्ञानले धेरै ठूलो फड्को मारेको छ । विज्ञानकै एक हाँगो कम्प्युटरले अभूतपूर्ण सफलता हासिल गरेको छ । अहिलेको जमानालाई इन्टरनेट र सामाजिक सञ्जालले काबुमा लिएको छ । प्रायः मानिसहरु यसको पहुँचमा छन् । यसले जनजीवन सहज र गुणस्तरीय बनाइदिएको तथ्य जगजाहेर छ । यसले टाढा–टाढा वा देश–विदेशमा रहेका मानिसहरुबीच सामीप्यता ल्याइदिएको छ । यसको प्रयोगबाट मानिसका विभिन्न आयामहरुको उन्नति भएको कुरा पनि छर्लंगै छ । अहिले इन्टरनेटको प्रयोगबाट भौतिकरुपमा कहीँ नगईकन घरै बसेर धेरै काम गर्न सकिन्छ ।
तर चाँदनीमा पनि दाग हुन्छ भनेजस्तो केही मानिसले यसको दुरुपयोग गरेका हुन्छन् । सामाजिक सञ्जाल वास्तवमा लगामविनाको घोडाजस्तो भइरहेको छ । कोही मानिसप्रतिको क्रोध, प्रतिशोध र कुण्ठाको प्रतिफलस्वरुप केही मानिसले उनीहरुको इज्जत र प्रतिष्ठामा खलल पुग्ने गरी सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् । हरमानिसलाई इज्जत कमाउन ठूलो समय लाग्छ भने शत्रु लाग्यो भने इज्जत गुमाउन निमेषभर लाग्दैन । इज्जत भनेको जीवनको सबैभन्दा ठूलो पुँजी हो, यदि यसमा क्षय पुग्यो भने त्यो अति पीडादायी र अपूरणीय क्षति हुन जान्छ । अरुलाई मिथ्या आक्षेप लगाउने गरी सामग्री सम्प्रेषण भएको कुराले सामाजिक सञ्जाल बदनाम भइरहेको छ । अहिले डिजिटल हिंसाको जगजगी भइरहेको छ ।
अर्कोतर्फ यसले धेरैको घर भाँडेको पनि छ । सामाजिक सञ्जालको विकृत एक रुप के हो भने, वैदेशिक रोजगारीमा गएका थुप्रै पतिका पत्नी वा पत्नीका पतिहरुले परपुरुष वा परस्त्रीसँग सम्पर्क कायम गरी अनैतिक क्रियाकलाप गर्ने गरेको पाइन्छ । शुरुमा सामाजिक सञ्जालमार्फत चिनजान हुने अनि भेटघाट हुने र समयको अन्तरालमा पोइल जाने वा बहुविवाह गर्ने प्रवृत्ति व्यापक छ । सामाजिक र यौनिक विकृति बढ्नाले पारपाचुके बढ्ने एक माध्यम बनेको छ यो ।
अर्कोतर्फ यसले गर्दा मानिसहरु शारीरिक श्रमबाट विमुख भइरहेका छन् । मानिस र प्रकृतिको सामीप्यता घटेको छ, जसबाट मानिस यान्त्रिक बनिरहेको छ । उदाहरणको लागि पहिले केटाकेटीहरु खेल खेल्थे, साथीभाइसँग गफगाफ र रमाइलो गर्थे तर अहिले उनीहरु प्रायः सामाजिक सञ्जालमा व्यस्त रहन्छन् । उनीहरु एकान्तप्रेमी बनिरहेका छन् । अहिलेका धेरै केटाकेटीलाई धूलो माटोमा खेल्ने भन्ने कुरा एकादेशको कथाजस्तो भएको छ ।
अत्यधिक सामाजिक सञ्जालको प्रयोगबाट मानिसको मस्तिष्कमा गम्भीर नकारात्मक असर पर्छ भन्ने वैज्ञानिक पुष्टि भइसकेको छ । अर्को महत्वपूर्ण कुरा के छ भने, फेसबुकलगायत अन्यमा मिथ्या समाचार र जानकारीको जगजगी छ । करिब आधाजसो समाचारहरु त मिथ्या हुन्छन् । सामाजिक सञ्जालमा अभ्यस्त भएकाहरु त झुटा समाचारको प्रभावबाट बच्लान् तर समाजिक सञ्जाल भर्खर चलाउन थालेका र अन्य सोझासादा मानिसहरुले त पत्याउन विवश हुन्छन् । मानिसहरुमा यसले धेरै नकारात्मक असर पार्छ । उदाहरणको लागि बलिउडका महान् अभिनेता धर्मेन्द्रको मृत्यु भयो भनेर उनको देहावसान नहुँदै धेरै झुटा समाचारहरु सम्प्रेषित भए । यस समाचारलाई कतिले त पत्याए पनि ।
यदि सामाजिक सञ्जाल सकारात्मक तरिकाले प्रयोग गरियो भने यो महजस्तो मीठो र हितकारी हुन्छ तर नकारात्मक तरिकाले प्रयोग गरियो भने यो विष हुन्छ । कसैको चरित्र हत्या गर्ने, सार्वजनिक जीवन धारण गरेका मानिसहरुको अश्लील तरिकाले तस्वीर प्रदर्शन गर्ने, खराब टिप्पणी गरेर वाक हिंसा गर्ने, उनीहरुको नितान्त व्यक्तिगत जीवनमाथि धावा बोलेर अराजकता पेस गर्ने, एआईको दुरुपयोग गरी अरुलाई बदनाम गर्नेजस्ता कुकर्महरुले सामाजिक सञ्जालको क्षेत्रलाई दूषित तुल्याएको हो । अरुलाई सम्मान र माया गर्न नजान्ने केहीले सामाजिक सञ्जालमा आतंक फैलाइरहेका छन् । तिनीहरुमा नैतिकता, कोमलता हुँदैन । समाज, कानुन, सहिष्णुता र मानवतालाई तिनीहरु उपेक्षा गर्छन् । अरुलाई पीडा र कष्ट दिएर रमाउने वास्तवमा तिनीहरु अमानवीय हुन् ।
थुप्रै मानिसको मन अत्यन्त नाजुक हुन्छ । सानो प्रतिकूल शब्दले पनि उनीहरुको मन विक्षिप्त बन्न पुग्छ । यदि उनीहरुको नाम सामाजिक सञ्जालमार्फत बदनाम भयो भने उनीहरुले त्यो सहन सक्दैनन् र मनमा चरम पीडा अनि आफ्नो बाँच्ने औचित्य सकिएको भान हुन सक्छ । जसको परिणाम हालतसित मुकाबिला गर्न नसकेर आत्महत्याजस्तो कदम पनि उठाउन सक्छन् । विगतलाई हेर्दा भरोसालाग्दी नेपाली सिनेमाकी अभिनेत्री श्रीषा कार्कीले छापामा आफ्नो बेइज्जती भएको सहन नसकी आत्महत्या गरेको दृष्टान्त जगजाहेर नै छ ।
प्रायः सबै हामी साक्षी छौं कि सामाजिक सञ्जालमा थुप्रै निर्दोष मानिसहरुलाई बेइज्जत गर्ने प्रचलन बढ्दो छ । मन बलियो हुनेले त जसोतसो सहलान् तर मन कमजोर हुनेहरुलाई निकै आहत महसुस हुन्छ । कति एन्जाइटी, डिप्रेसनजस्ता रोगले गाँजिन्छन् । चिन्ता र अत्यासले थुप्रैलाई मानसिकरुपमा विक्षिप्त बनाइदिन्छ । केही पीडितहरुलाई मान्छेसँग डराउने मनोविज्ञानले डस्छ । कति त सामाजिक सञ्जाल नै प्रयोग नगर्ने मनस्थितिमा पुग्छन् । सामाजिक र कानुनी जटिलताले गर्दा झन् बढी बेइज्जती हुने हो कि वा पीडकले अझ बढी बेइज्जती गरिदिने हो कि भनेर थुप्रै मानिस कानुनी लडाइँ लड्नसमेत पछाडि हट्ने गरेको पाइन्छ ।
आपराधिक मनस्थिति भएका केही मानिसले आफ्ना साथीसंगीको पासवर्ड कुनै तरिकाले चोरेर उनीहरुको गोप्य तस्वीर र डाटालाई पर्दाफास गरिदिएका धेरै घटना छन् । त्यही भएर सामाजिक सञ्जालको आफ्नो पासवर्ड कोही नजिकका मानिसलाई पनि दिनुहुन्न । केहीले अरुको नक्कली आईडी बनाएर नाजायज र अश्लील सामग्री हाली लोकमा बदनाम गराइदिन्छन् । साइवर अपराध निकै गम्भीर विषय हो । साइबर अपराधलाई नियन्त्रणमा ल्याएर सभ्य र सुरक्षित समाज रचना गर्न राज्यसंयन्त्र, नागरिक समाज, सञ्चारमाध्याम र सबै न्यायप्रेमी जनता सचेत र सक्रिय हुनुपर्छ ।
साइबर हिंसाबाट पीडित धेरै मानिसले प्रहरीमा उजुरी नदिएका पनि होइनन् तर त्यस्ता घटनालाई गुपचुपमा नै मिलाइन्छ वा सम्बन्धित निकाय संवेदनशील भइदिन्न । जसको फलस्वरुप साइबर हिंसा भुसको आगोसरि फैलिइरहेको छ । पीडकलाई अधिकतमसम्मको दण्ड दिनु अत्यावश्यक छ । आफ्ना छोराछोरीले कतै सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध त गरिरहेका छैनन् भन्ने कुरामा अभिभावक पनि सचेत हुनु समयको माग हो । यदि आफ्ना सन्तानले बाटो विराइरहेका छन् भने अभिभावक कडा कदम चाल्न पछाडि हट्नुहुन्न । अहिलेका प्रायः अभिभावक आफ्ना सन्तानहरुसँग डराएर उनीहरुलाई उचित लगाम लगाउन पछाडि हट्ने परिवेश छ तर यसो गर्न मिल्दैन । किनकि सन्तानको सुसंस्कारको लागि डट्नु अभिभावकको गहन जिम्मेवारी हो ।
अहिले भइरहेको एआई र रोबोटिक्सको तीव्र विकासले पछि कालान्तरमा कतै मानिसहरुलाई रोबोट वा यन्त्रहरुले हानि पु¥याउने त होइन भन्ने खतरा बढिरहेको छ । वैज्ञानिक र व्यापारीहरुको बेलगाम महत्वाकांक्षाको परिणामस्वरुप मानव अस्तित्व नै खतरामा पर्नेछैन भन्न सकिन्न । विज्ञानको जोखिमपूर्ण तवरको विकासले सबैलाई झस्काएको छ । सामाजिक सञ्जलको सकारात्मक र नकारात्मक दुवै पाटो भएजस्तै एआई र रोबोटिक्सको पनि असल र खराब पक्ष छ । जोखिमपूर्ण काम गर्नका लागि रोबोटहरु मानिसका लागि अति सहयोगी त छन् तर पछि मानिसलाई नै यो असल पक्ष घातक हुने त होइन ?
रोबोट भनेका मेसिन हुन्, तिनीहरुलाई दुख्दैन र यदि उनीहरुमा मानिसमा जस्तै भावना र सोचविचार गर्ने शक्ति प्रचुर मात्रामा हालियो भने तिनीहरुले मानव समुदायलाई ठूलो भौतिक क्षति पु¥याउन सक्छन् । मानिसलाई दुख्छ वा मानिसको मरण हुन्छ । त्यसैले उनीहरु रोबोटप्रति हाबी हुन सक्दैनन् । त्यसैले विश्व समुदाय यस गम्भीर कुरामा अति संवेदनशील हुन जरुरी छ । शक्तिशाली र विकसित देशका विश्वनेताहरुले यसलाई उपेक्षा गरिदिने हो भने कालान्तरमा अति ठूलो प्रलय आउने पक्का छ ।
अहिलेको अवस्थामा एआई वा रोबोटिक्स शत्रु हो कि मित्रु हो भन्ने कुरामा जनमानस अलमलमा परेको अवस्था छ । कम्प्युटरका पिता चाल्र्स ब्याबेजले पनि कम्प्युटर यति तीव्र तरिकाले मानव समुदायमा समाहित होला भन्ने सोचेका थिएनन् होला । यसको सदुपयोगले मानवहित हुन्छ भने दुरुपयोग भएमा विनाश निम्त्याउँछ । अहिलेदेखि नै यसमा ध्यान पुग्नु जरुरी छ । वास्तवमा मानिस भनेको चेतना, ज्ञान, सीप र कला भएको प्राणी हो, भगवान् होइन, त्यसैले रोबोटमा मानिसमा भएका गुणहरुजस्तै संवेदनशीलताको ज्ञान जडान गरी मानवसरह बनाउने हक मानिसलाई छैन । यदि रोबोटहरुलाई माया, दया, क्रोधजस्ता मानवसरहका भावनाहरुयुक्त गरियो भने एकदिन मानव समुदाय सखाप हुनुपर्ने हुन सक्छ ।
प्रविधि र कम्प्युटरका हाँगाहरुलाई उच्चतम विवेक र दिगोपनाको सिद्धान्त अनुरुप प्रयोग गर्नु मानव जातिको गहन जिम्मेवारी हो । यसमा खेलबाड गरिनुहुन्न । प्रविधि र कम्प्युटर मानिसलाई सुविधा दिन सिर्जित तत्वहरु हुन् । यिनीहरुलाई चेतनशील भई प्रयोग गरिनुपर्छ । सीमित स्वार्थ र लहडमा भविष्यमा मानव जातीलाई हानि हुन सक्ने रचनाहरु गरिनुहुन्न । संयमता र दूरदृष्टि राखेर मानव समुदायलाई सेवा गर्न सारा वैज्ञानिक र ठूला–ठूला व्यापारीहरु आफ्नो कर्मथलोमा खरो उत्रनुपर्छ । विज्ञान, आदर्श र नीतिको दुरुपयोग निकै खतरनाक साबित हुन पनि सक्छ ।











प्रतिक्रिया