काउन्सिलको कडा चेतावनी-विज्ञापनमा डाक्टरको फोटो राख्नेहरूलाई कारबाही


काठमाडौं। 

कन्सल्टेन्सी तथा निजी व्यावसायिक संस्थाहरूले चिकित्सकको नाम, फोटो र शैक्षिक उपाधि (डिग्री) लाई प्रयोग गरी गरिँदै आएको व्यापारिक प्रचार–प्रसार बढेपछि नेपाल मेडिकल काउन्सिलले अत्यन्त कडा चेतावनी जारी गरेको छ । काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवद्वारा जारी विज्ञप्तिमा यसलाई कानूनत निषेध मात्र नभई व्यावसायिक आचारसंहिता विपरीत रहेको स्पष्ट उल्लेख गरिएको छ ।

काउन्सिलले चिकित्सकले कुनै पनि कन्सल्टेन्सी, क्यारेयर–गाइड सेवा, शैक्षिक एजेन्ट वा निजी व्यवसायलाई प्रमोट गर्न बोर्ड, ब्यानर, पोस्टर, डिजिटल साइनबोर्ड, ब्राण्डेड सामग्रीमा आफ्नो नाम वा फोटो प्रयोग गर्न नपाउने जनाएको छ ।

“यस्तो कार्य कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७ को बुँदा नं. ९ ले कडाइका साथ निषेध गर्छ,“ र यसलाई निरन्तरता दिए कानूनअनुसार अनुशासनात्मक कारबाही हुने चेतावनी समेत दिएको छ ।

नेपालमा स्वास्थ्य व्यवसायका विज्ञापन सम्बन्धी कानुनी व्यवस्था अत्यन्त स्पष्ट छ । नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा चिकित्सकले कुनै व्यावसायिक कम्पनीको प्रचार–प्रसार गर्न नपाउने उल्लेख गरेको छ । चिकित्सकीय पहिचान ( एमबीबीएस, एमडी, एमएस आदि) लाई व्यापारिक ब्रान्डिङमा प्रयोग गर्नु अपराध मानिनेछ । 

२०१७ चिकित्सकले बिरामी र समाजप्रति निष्पक्ष र विश्वसनीय रहनुपर्ने कुनै पनि व्यावसायिक दवाब, प्रलोभन, प्रायोजन वा विज्ञापनबाट प्रभावित भएर क्लिनिकल निर्णय गर्न नपाइने उल्लेख गरिएको छ । नियम उल्लंघन गरे रजिष्ट्रेसन स्थगित हुनेदेखि डिलिसनसम्म (नाम हटाउनेसम्म) सजायको व्यवस्था रहेको जनाएको छ।

उपभोक्ता संरक्षण ऐनमा भए अनुसार गलत वा भ्रमपूर्ण विज्ञापनलाई दण्डनीय कृत्य मानिन्छ । नेपालमा पछिल्ला वर्षहरूमा विदेश पढाइका कन्सल्टेन्सी, निजी अस्पताल, औषधि सप्लायर्स, शल्यक्रिया प्रवद्र्धन गर्ने क्लिनिकहरूले चिकित्सकको नाम र सेतो कोटलाई विश्वास बेच्ने उपकरणका रूपमा प्रयोग गर्दै आएका छन्।

स्वास्थ्य–नीति विशेषज्ञ डा. सुशील कोइरालाका अनुसार “चिकित्सकको पहिचान समाजमा अत्यधिक विश्वसनीय मानिन्छ । यसलाई व्यावसायिक विज्ञापनमा प्रयोग गर्दा उपभोक्ताले धोका खान सक्छ ।“

अमेरिका, अष्ट्रेलिया, बंगलादेश, भारत जस्ता मुलुकहरूमा चिकित्सकलाई व्यावसायिक विज्ञापनमा प्रयोग गरिँदा अनावश्यक सेवा खरिद बढ्ने, बिरामीको निर्णय प्रभावित हुने,व्या पारिक हित प्राथमिकतामा जानु र फर्जी वा बढाइचढाइ भएका दाबीहरू मार्फत ठगी बढ्ने जस्ता समस्याहरू देखिएको तथ्यांकले बताउँछ । विशेषगरी विदेश अध्ययन, क्यास–बेनीफिट र कमिसन–आधारित प्रवर्द्धनले विद्यार्थी र अभिभावकलाई जोखिमपूर्ण निर्णयतर्फ धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय मेडिकल असोसिएसनहरूले दिएका छन् ।

नेपाली समाजमा चिकित्सकको वाक्यलाई ‘अन्तिम सत्य’ जस्तै मानिने परम्परा भएकाले कन्सल्टेन्सीले चिकित्सकको फोटो राखेपछि विद्यार्थीले निर्णय गलत हुन सक्छ । धोका, आर्थिक शोषण, गलत विश्वविद्यालयमा भर्ना हुने खतरा बढ्छ, स्वास्थ्य पेसाको विश्वसनीयता नै व्यापारिककरणको ठाउँमा धकेलिने जोखिम छ, यसले देशको सम्पूर्ण स्वास्थ्य प्रणालीको नैतिक मूल्य कमजोर पार्छ । काउन्सिलका एक अधिकारीका अनुसार “कतिपय कम्पनीले ५०–६० चिकित्सकका फोटो सहित ’अम्बेसडर’ घोषणा गरेपछि काउन्सिल बाध्य भएर कडा कदम चाल्नुप¥यो ।“ कतिपय प्रचार–सामग्रीमा चिकित्सकको ड्रेस, स्टेथोस्कोप र डिग्रीको दुरुपयोग गरेर विद्यार्थी आकर्षित गर्ने प्रवृत्ति बढेको थियो ।

काउन्सिलले उल्लंघनकर्ता चिकित्सक र कन्सल्टेन्सीसूची संकलन सुरु गरिसकेको छ । अब पहिलो चरणमा चेतावनी पत्र, दोस्रो चरणमा अनुशासन समिति समक्ष कारवाही प्रक्रिया, तेस्रो चरणमा रजिष्ट्रेसन निलम्बन – नवीकरण रोकिने, जस्ता कदम चालिने बताइएको छ । यता, स्वास्थ्य नीति विश्लेषकहरू भन्छन् “यो निर्णय ढिलो भए पनि अत्यन्त आवश्यक हो ।“ चिकित्सा पेशाको विश्वसनीयता जोगाउन कानूनको कडाइले मात्रै संरचना सुधार हुन्छ । स्वास्थ्य क्षेत्रमा विज्ञापनको  स्पष्ट कार्यविधि तुरुन्तै सार्वजनिक गर्नुपर्छ । चिकित्सक–व्यापारिक साझेदारीका सबै मोडेल पारदर्शी बनाइनुपर्छ । विदेश अध्ययन कन्सल्टेन्सीलाई छुट्टै नियामक निकाय अन्तर्गत मजबुत निगरानीमा ल्याउन आवश्यक छ । भ्रमपूर्ण विज्ञापनमा तत्काल जरिवाना र लाइसेन्स निलम्बन जस्ता कठोर कदम चालिनुपर्छ ।

नेपाल मेडिकल काउन्सिलको यो कदम डाक्टरको पहिचानलाई ‘व्यापारको सामग्री’ बनाउने चलन अन्त्य गर्ने महत्त्वपूर्ण मोड मानिएको छ । स्वास्थ्य क्षेत्रको नैतिकता, विश्वसनीयता र जन–विश्वास जोगाउन सरकारले यस्ता मुद्दामा निरन्तर कठोर र स्पष्ट रहनुपर्ने विशेषज्ञहरूको आग्रह छ ।