प्रिमियर लिगमा हालान्डले छिटो १ सय गोल गरे


लन्डन, (एजेन्सी)

म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १ सय गोल गर्ने खेलाडी बनेका छन् । मंगलबार राति फुलह्यामविरुद्धको रोमाञ्चक ५–४ जितमा १७औं मिनेटमा उनले गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् ।

उनले १ सय ११ खेलमै उक्त उपलब्धि हासिल गरेका हुन् । लिगमा यस सिजन १५ गोलसहित अग्रस्थानमा रहेका हालान्डले यसअघि न्यूक्यासल र लिड्सविरुद्ध गोल गर्न सकेनन् ।

नर्वेली खेलाडी हालान्डले एलेन शिररको रेकर्ड पनि तोडे । यसअघि शिरर १ सय २४ खेलबाट प्रिमियर लिगमा १ सय गोल गर्ने खेलाडी थिए । अहिले हालान्डले उनीभन्दा १३ खेलअघि १ सय गोल पूरा गरे ।