नेपाली सेनाद्वारा जनकपुरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


जनकपुरधाम ।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१०, बाह्रविगाहामा नेपाली सेनाको बर्दिबासस्थित मध्य पूर्वी पृतनाले मङ्सिर ८ देखि १० गतेसम्म सञ्चालन गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा नेपाली सेना सम्बन्धी प्रदर्शनी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

राम–जानकी विवाह पञ्चमी महोत्सव–२०८२ को अवसर पारेर तीन दिनसम्म सञ्चालन गरिएको सो कार्यक्रममा दर्शनार्थी तथा स्थानीय बासिन्दालाई लक्षित गरी छाला, हाड–जोर्नी, नाक–कान–घाँटी, आँखा, बाल रोग, स्त्रीरोग, फिजिसियन, ड्रेसिङ स्टल लगायत विविध निःशुल्क सेवा प्रदान गरिएको थियो। साथै सचेतनामूलक गतिविधि, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा नेपाली सेनाको गतिविधिबारे जानकारीमूलक फोटो–भिडियो प्रदर्शनी पनि राखिएको थियो।

कार्यक्रमको अवलोकन महिला–पुरुष गरी १६ हजार ४०३ जनाले गरेका थिए। सो अवधिमा पुरुष १,७६५ र महिला १,३१० गरी जम्मा ३,०७५ जनाको स्वास्थ्य परीक्षण गरिएको नेपाली सेनाले जनाएको छ।

यसै क्रममा स्वास्थ्य शिविरमा ९५ जनाको जलविन्दु (Cataract) शल्यक्रिया समेत सफलतापूर्वक सम्पन्न गरिएको सेनाले जानकारी दिएको छ।