महाभारत युद्धमा प्रयोग भएका शक्तिशाली शस्त्रहरु

2.07k
Shares

महाभारतको युद्धमा प्रयोग भएका अस्त्रशस्त्रहरु आजको आधुनिक मिसाइलहरुभन्दा अत्यधिक विनाशकारी थिए । महाभारत एउटा युद्ध मात्र थिएन, त्यो एउटा यस्तो महासंग्राम थियो कि जसमा धर्म, अधर्म, राजनीति, नीति, अनीति र सबभन्दा महत्वपूर्ण दिव्य अस्त्रहरुको शक्तिको परीक्षण पनि थियो । त्यति बेला सामान्यतया युद्धमा तरबार र धनुषवाणको प्रयोग गरिन्थ्यो । तर दिव्य अस्त्रको प्रयोग गर्नुपर्दा मन्त्र र तपस्याको शक्तिबाट मात्र प्राप्त गर्न सकिन्थ्यो ।

महाभारतकालका सबभन्दा खतरनाक र दिव्य अस्त्रको बारेमा चासो हुनु स्वाभाविक हो । यी अस्त्र अत्यन्तै विनाशकारी थिए र ब्रह्माण्डलाई नै प्रभावित पार्ने क्षमताका थिए । यस्तो कुन अस्त्र कसको साथमा थियो र उसले त्यो अस्त्र कसरी प्राप्त ग¥यो अनि कसमाथि प्रयोग गरेको थियो भन्ने कुरा यहाँ संक्षिप्तमा वर्णन गर्ने प्रयास गरिएको छ ।

ब्रह्मास्त्र :

ब्रह्मास्त्र सबैभन्दा शक्तिशाली अस्त्रहरुमध्ये एक थियो । यो ब्रह्माको दिव्य अस्त्र थियो । यो अस्त्रलाई छोड्दा कुनै पनि चिज या वस्तुको अस्तित्व सुरक्षित रहन सक्दैनथ्यो । यतिसम्म कि भूमि, जल, वायु, आकाश सबै नष्ट हुन सक्थ्यो । यसको मारक क्षमता यतिसम्म थियो कि यदि दुईवटा ब्रह्मास्त्र जुध्यो भने पूरै पृथ्वीको विनाश हुन सक्थ्यो । यस्तो शक्तिशाली ब्रह्मास्त्र अर्जुन, अश्वत्थामा र कर्णसँग थियो ।

यो ब्रह्मास्त्र कसरी प्राप्त भएको थियो र कहिले प्रयोग भएको थियो ? भन्ने कुरा गर्दा, यो अस्त्र वेद र मन्त्रको गहन अध्ययन र तपस्याबाट प्राप्त गरिन्थ्यो । अर्जुनलाई यो अस्त्र भगवान् शिवको कृपाबाट र उहाँकै निर्देशनबाट महर्षि व्यासद्वारा प्राप्त भएको थियो । अश्वत्थामालाई यो अस्त्र आफ्नै पिता द्रोणाचार्यबाट प्राप्त भएको थियो । कर्णले परशुरामबाट यो अस्त्र प्राप्त गरेका थिए ।

महाभारत युद्धको अन्तिम चरणमा जब अश्वत्थामाले घटोत्कचको मृत्युपश्चात् पाण्डवहरुलाई मार्न ब्रह्मास्त्र छोडिदिए, तत्कालै अर्जुनले पनि प्रत्युत्तरमा ब्रह्मास्त्र छोडिदिए । तब ऋषि व्यास त्यहाँ प्रकट भए र उनले दुवैलाई अस्त्र फर्काई लिन आदेश दिए । अर्जुनले त ब्रह्मास्त्र फर्काई लिए तर अश्वत्थामाले फर्काउन सकेनन् । उनले ब्रह्मास्त्रलाई उत्तराको गर्भमा रहेका अभिमन्युका पुत्रमाथि संकेत गरिदिए । फलस्वरुप गर्भमा रहेका परीक्षितको मृत्यु भयो तर भगवान् श्रीकृष्णले उनलाई बचाइदिए ।

पाशुपतास्त्र :

यो भगवान् शिवको सबैभन्दा शक्तिशाली एवं प्रलयकारी अस्त्र मानिन्छ । यो यति शक्तिशाली थियो कि यसलाई चरम स्थितिमा मात्र प्रयोग गर्न सकिन्थ्यो, अन्यथा सम्पूर्ण सृष्टिको विनाश हुन सक्थ्यो । यसलाई छोड्नुअघि साधकले पूर्ण संयम, तपस्या र भक्तिको पालना गर्नुपथ्र्यो । यो अस्त्र अर्जुनको साथमा थियो । अर्जुनले कठोर तपस्या गरेर भगवान् शिवलाई प्रसन्न गरेका थिए । तब भगवान् शिवले अर्जुनको परीक्षा लिन किरातरुपमा आएर युद्ध गरे । अर्जुनले आफ्नो पराक्रम र भक्तिले शिवलाई प्रसन्न पारे । तब शिवले अर्जुनलाई पाशुपतास्त्र प्रदान गरे ।
महाभारत युद्धमा अर्जुनले यसको प्रयोग गरेनन् । किनभने यसको प्रयोग केवल आपतकालको स्थितिमा मात्र गर्न सकिन्छ, नत्र यसबाट ठूलै हानि नोक्सानी हुन सक्थ्यो ।

नारायणास्त्र :

यो अस्त्र भगवान् विष्णुसँग सम्बन्धित थियो र यसको प्रयोग केवल एकपटक मात्र गर्न सकिन्थ्यो । यो अस्त्रले मनको भावनाअनुसार स्वयं कार्य गर्दथ्यो । यदि शत्रुले समर्पण गरेमा यो अस्त्रले उसलाई क्षमा गरिदिन्छ तर यदि प्रतिरोध गरेमा यो अस्त्रले उसलाई भष्म गरिदिन्थ्यो । यो अस्त्र अश्वत्थामासँग थियो । अश्वत्थामालाई यो अस्त्र भगवान् विष्णुको ध्यानबाट र आफ्ना पिता द्रोणाचार्यको मन्त्रद्वारा प्राप्त भएको थियो । यो अस्त्र कहिले प्रयोग भयो त ? महाभारत युद्धपश्चात् अश्वत्थामाले क्रोधवश पाण्डवको शिविरमा आक्रमण गर्दा नारायणास्त्रको प्रयोग गरेका थिए । पाण्डवले भगवान् श्रीकृष्णको सल्लाहअनुसार अस्त्रको प्रतिरोध गरेनन् र आफ्ना शस्त्र तल राखिदिए, जसले गर्दा पाण्डवको रक्षा भएको थियो ।

अग्न्यास्त्र :
यो अग्नि देवतासँग सम्बन्धित अस्त्र थियो । यसलाई छोड्दा शत्रु पक्षमा भयंकर अग्नि प्रज्वलित हुन्थ्यो, जसबाट सबै जलाई दिन्थ्यो । यो अस्त्र अर्जुन, द्रोणाचार्य र कर्णसँग थियो । यो अस्त्र गुरुको दीक्षाद्वारा प्राप्त हुन्थ्यो । अर्जुनले यो अस्त्रविद्या द्रोणाचार्यसँग सिकेका थिए । यो अस्त्र कहिले प्रयोग भएको थियो त ? भन्दा अर्जुनले महाभारत युद्धमा कैयौँपटक यसको प्रयोग गरेका थिए । विशेषरुपमा कौरव सेनाका रथ र वाहनहरु जलाउन पटक–पटक अर्जुनले यो प्रयोग गरेका थिए।
वायव्यास्त्र :

यो वायुदेवताको अस्त्र थियो, जसले भयंकर तुफान, हुरी, बतासद्वारा शत्रु पक्षलाई तहसनहस पार्न सक्थ्यो । यसबाट शत्रुको सन्तुलन बिग्रिन जान्थ्यो र लड्न असमर्थ हुन्थे । यो अस्त्र अर्जुनसँग थियो । अर्जुनलाई यो अस्त्र गुरु द्रोणाचार्यबाट प्राप्त भएको थियो । यसको प्रयोगको कुरा गर्दा, जब अर्जुन महाभारत युद्धमा भारी सेनाको घेराबन्दीमा परे तब उनले यो अस्त्रको प्रयोग गरेर चारैतर्फ आँधीतुफान ल्याई सबै सेनालाई तितरबितर पारेका थिए ।

नागास्त्र :

नागका राजा वासुकीको नामबाट यो अस्त्र बनाइएको थियो । यो अस्त्रले एक विशाल नागरुप भएर शत्रुमाथि प्रहार गर्दथ्यो । यो अस्त्र कर्णको साथमा थियो । कर्णलाई यो अस्त्र तपस्या र नागवंशको सहयोगबाट प्राप्त भएको थियो । कुनै एक कथामा उल्लेख भएको छ कि यो अस्त्र कर्णलाई एउटा नागबाट प्राप्त भएको थियो, जसले अर्जुनसँग बदला लिने इच्छाले कर्णलाई सहायता गरेका थिए । कर्णले पनि कुरुक्षेत्र युद्धमा यो अस्त्रको प्रयोग अर्जुनको विरुद्धमा गरेका थिए । परन्तु भगवान् श्रीकृष्णले यो अस्त्र आफ्नो छातीमा थापे र अर्जुनलाई बचाइदिए ।

त्वष्टास्त्र र इन्द्रास्त्र :

यो अस्त्र इन्द्र र अन्य देवताहरुसँग सम्बन्धित छ । यसलाई अमोघ अस्त्र मानिन्थ्यो । त्वष्टादेव ब्रह्माण्डका निर्माणकर्ता देवता मानिन्छ । उनैले दिएको यो अस्त्र सिर्जनात्मक र विध्वंसात्मक दुवै हुन्थ्यो । यो अस्त्र अर्जुन, कर्ण र भीष्मसँग थियो । यो अस्त्र उनीहरुलाई दिव्य ध्यान र गुरुको कृपाबाट प्राप्त भएको थियो । यो कहिले प्रयोग भएको थियो त ? विशेषरुपमा महाभारतको प्रारम्भिक दिनमा जब भीषण संहार आवश्यक हुन्थ्यो तब यो प्रयोग हुन्थ्यो ।

शंख, चक्र, गदा आदि अस्त्र :

भगवान् श्रीकृष्ण स्वयं सुदर्शन चक्र र कौमोदकी गदाका धारणकर्ता थिए । उनले युद्धमा सक्रिय रुपमा हतियार उठाएनन् तर जब अर्जुन संकटमा परे तब उनले चक्र उठाएर भीष्म पितामहलाई प्रहार गर्ने चेतावनी दिएका थिए । सुदर्शन चक्रको वेग र नियन्त्रण मन्त्रद्वारा हुन्थ्यो । यो जहाँ–जहाँ जान्थ्यो त्यहाँ–त्यहाँ शत्रुको विनाश निश्चित थियो ।

ब्रह्मशिरास्त्र :

यो ब्रह्मास्त्रको एउटा अर्को रुप थियो । यो ब्रह्मास्त्रभन्दा अधिक विनाशकारी थियो । यसको प्रयोग गर्नाले चारै दिशामा अग्नि, वायु र जलमा विकृति आउँथ्यो । यो अस्त्र अर्जुन र अश्वत्थामासँग थियो ।

महाभारतको युद्ध केवल बाहुबलको मात्र थिएन, दिव्य अस्त्रहरु, मन्त्रशक्ति र मानसिक सामथ्र्यताको पनि संग्राम थियो । हरेक अस्त्रको साथमा सम्मिलित थियो– त्यसको साधना, मर्यादा र विनाशक शक्ति । पाण्डव र कौरवहरुको साथमा समान प्रकारका अस्त्र थिए तर त्यसको प्रयोग कसरी र कुन भावनाद्वारा गरिएको थियो, त्यही निर्णायक बन्यो ।

यी दिव्य अस्त्रहरुको प्राप्ति केवल गुरुकृपा, तपस्या र योगबलद्वारा मात्र सम्भव थियो । आजको वैज्ञानिक युगमा अस्त्र केवल कल्पनाजस्तो लाग्न सक्छ तर त्यस युगमा वास्तविक अस्त्र थिए, जसको प्रयोग पूरा जिम्मेवारी र मर्यादाका साथ गरिन्थ्यो । यही महाभारतको सबैभन्दा गुढ र चामत्कारिक विशेषता हो ।