जेनजी आन्दोलनले देशभर एक सन्देश छोडेको छ– सिस्टम फेरिनुपर्छ, संस्कार बदलिनुपर्छ र राज्यका हरेक तह–तहमा जनताकै आवाज एवं अपेक्षा प्राथमिकतामा पर्नुपर्छ । यो आन्दोलन केवल राजनीतिक परिवर्तनको माग मात्र होइन, यो प्रशासनिक रूपान्तरणको पनि आह्वान हो । किनकि, जनताले देखेका, भोगेका र सहनुपरेका सबैभन्दा नजिकको ‘सिस्टम’ भनेकै कर्मचारीतन्त्र हो । नेपालमा राजनीतिक प्रणाली जेसुकै फेरिए पनि कर्मचारीतन्त्रको पुरानै ‘मोड’ उस्तै छ– पञ्चायतबाट बहुदल, राजतन्त्रदेखि संघीयता, सबै मोडमा यही संरचना, यही बानी, यही सोच । परिवर्तनका कारण सिंहदरबारका कक्ष बदलिए तर त्यही कक्षका व्यवहार बदलिन सकेनन् ।
अहिलेको जेनजी पुस्ता समय, सक्षम प्रशासन र ‘साफ्ट डेलिभरी’ माग्दै सडकमा छ । उनीहरू कुनै राजनीतिक दलका लागि होइन, शासन प्रणालीको कार्यक्षमता सुधारका लागि चर्केका स्वर हुन् । र, यो मागको केन्द्रमा सरकारभन्दा बढी कर्मचारीतन्त्र छ, जो सेवक भएर होइन, शासक भएर बसिरहेको छ । जनताको अपेक्षा कर्मचारीसँग व्यक्तिगत नभई राष्ट्रिय किसिमका छन्– विद्यालय सुधार, स्वास्थ्य सेवा, बाटो, पानी, विद्युत्, शान्ति–सुरक्षा, लगानीको वातावरण, सरकारी निकायबाट सहज सेवा । तर कर्मचारी प्रशासनको संस्कृति भने उस्तै छ । प्रक्रियामा अड्किने, ढिला गर्ने, जिम्मेवारी पन्छाउने, फाइल थाती राखेर शक्तिको आभास दिने र जनतालाई दुःख दिने यस्तै–यस्तै । यही प्रवृत्तिले जेनजी पुस्ता मात्रै होइन, आम नागरिकलाई प्रशासनमाथि अविश्वास गराएको छ । अब यो परिवर्तन नहुँदा संघीयताको आधारभूत मर्म नै क्षतिग्रस्त हुन्छ । संघीयतामा कर्मचारीको भूमिका अब ‘माथि–माथि’ होइन, घरदैलोमा हुनुपर्छ ।
राज्यका ७५३ वटा स्थानीय तहहरू जनताको नजिकका सरकार हुन् । तर यी तहमा खटिने धेरै कर्मचारी ‘रेसिस्ट मोड’ मै छन् । अब कर्मचारीले जनताको घरदैलोमा पुगेर सेवा दिनु ‘वैकल्पिक’ होइन अनिवार्य जिम्मेवारी हो । नेपालको नयाँ पुस्ताले मागेको कर्मचारीले अब जनतालाई केन्द्रविन्दु्मा राखेर काम गर्नुपर्छ । उनीहरुमा सदा–सदा राष्ट्रप्रतिको समर्पणभाव हुनुपर्छ । देश सेवा गर्ने बोध सधैँ जागृत हुनुपर्छ । प्रणालीको नियम पालन, कानुनको सम्मान, काममा निष्ठा, यी गुणविनाका कर्मचारी जनताका प्रतिनिधि होइन, अवरोध बन्छन् । ‘हामी शासक होइन, सेवक हौँ’ भन्ने मनोवृत्ति जागृत नहुँदा संघीयता कमजोर हुन्छ, शासनमा दूरी बढ्छ । जेनजी आन्दोलन हुनुको प्रमुख कारणमध्ये यो पनि एक हो ।
विकसित राष्ट्रहरूको प्रशासनिक संरचनामा ‘आचरण’ पहिलो प्राथमिकता हुन्छ । तर नेपालमा भत्ता, सुविधा, बढुवा पहिले अनि दायित्व र कर्तव्य पछि रहँदै आएको छ । जसका कारण कर्मचारीतन्त्र आम जनतामा बदनाम हुन पुगेको हो । अब यो उल्टो प्रवृत्तिको अन्त्य हुनै पर्छ । जेनजी पुस्ताको आन्दोलन केवल सडकको भावनात्मक प्रतिक्रिया होइन, यो भविष्यको राज्य संरचना कस्तो हुनुपर्छ भन्ने नयाँ पुस्ताको घोषणापत्र हो । त्यसैले अब कर्मचारीतन्त्रले पुरानो अभिमान, ढिलासुस्तीको संस्कार, फाइल थुन्ने प्रवृत्ति, सेवा नभएर शक्ति प्रदर्शन गर्ने सोच त्याग्नै पर्छ । अब कर्मचारीतन्त्रले आफूलाई रूपान्तरण गर्नै पर्छ, नत्र परिवर्तनको लहरले यो संरचनालाई पनि क्षतविक्षत पारिदिन सक्छ । त्यसैले कर्मचारीतन्त्र आमूल सुधार हुनुको विकल्प छैन ।











प्रतिक्रिया