मनोरञ्जनमूलक एफएम रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन्।
खनियाँ नयाँ बानेश्वर हाइटस्थित रेडियो एफएम स्टेशन भएको आफैले निर्माण गरेको घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार आइतबार दिउँसो १२ बजेतिर उनी बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।
मनोरञ्जन त्यसमाथि पनि खासगरी हास्यव्यङ्ग्य कार्यक्रम प्रसारण गर्दै आएका उनी सोही एफएमबाट चर्चामा आएका थिए। उनले धेरै हास्य कलाकारलाई कार्यक्रम सञ्चालक बनाएर विभिन्न हास्य र मनोरञ्जनमूलक कार्यक्रम प्रस्तुत गर्दै आएका थिए। उनी स्वयं पनि कुशल कार्यक्रम सञ्चालकका रूपमा स्थापित भएका थिए।
सुरुवाती चरणमा कम्युनिकेसन कर्नरमा काम गर्दै आएका खनियाँले कतारका साथीभाइलाई पार्टनर बनाई नयाँ वानेश्वरबाट रेडियो एफएम सञ्चालनमा ल्याएका थिए। पछि सो रेडियो स्टेशनको एक्लो मालिक भएका थिए। केही समयअघि मात्र नयाँ वानेश्वर हाइटमा घर निर्माण गरी रेडियो स्टेशन त्यही“बाट सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय रेडियो स्टेशन घाटामा गएपछि सो घर बिक्री गरी त्यहीं भाडा तिरेर सञ्चालन गर्दै आएका थिए।
सबैजसो चर्चित हास्य कलाकारलाई जन्मदिनमा रेडियोमा बोलाएर केक काटेर बर्थडे मनाउँदै ऊर्जा भर्दै आएका उनी पछिल्ला केही समयदेखि आर्थिक समस्याबाट गुज्रिरहेका थिए। उनले फिल्ममा लगानीसमेत गरेका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ। उनको परिवारमा श्रीमती र छोरी छन्।











प्रतिक्रिया