एनपीएल–२ मा पहिलो शतक बनाएका मार्क वाट

0
Shares

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल २) मा पहिलो शतक बनेको छ । पहिलो शतक प्रहार गर्ने श्रेय स्कटल्यान्डका खेलाडी मार्क वाटले लिएका छन् । कर्णाली याक्सबाट खेलेका वाटले शनिबार लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका हुन् । योसँगैं एनपीएल २ मा उनी पहिलो शतक प्रहार गर्ने खेलाडी बने ।

यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्धको खेलमा वाटको ब्याटिङ निकै सुस्त देखिएको थियो । ओपनर प्रियांक पाञ्चालले एक इन्डबाट बाउन्ड्री प्रहार गर्दै रन बटुलिरहँदा वाटले भने एक एक रन मात्रै जोड्न सकेका थिए । उनले २१ बलको सामना गर्दा मात्र एक चौका हान्दै १६ रन बनाए । उनको यो सुस्त गतिको ब्याटिङले गर्दा यो खेल कर्णालीले हारेको थियो ।

तर, दोस्रो खेलमा भने त्रिवि रंगशालामा वाटको ब्याट निकै चल्यो । उनले १२ छक्का प्रहार गरेका थिए । उनको वान म्यान आर्मीको प्रदर्शनले यो खेलमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले हराउन सफल भएको थियो । उनलाई साथ दिएका खेलाडी बोसिस्टोले २९ रन मात्रै बनाए । जबकी दोस्रो विकेटका लागि नटआउट १ सय २३ रनको साझेदारी भएको थियो । वाटले ४४ बलमा १ सय १४ रन जोडेका हुन् ।

करिअरकै पहिलो शतक

२९ वर्षीय मार्क वाटको यो करिअरकै पहिलो शतक बनेको छ । यसैले उनी यो शतक बनाएपछि त्रिवि मैदानमा निकै खुशी देखिएका थिए । उनले वानडे, टी २० अन्तर्राष्ट्रियमा कुनै शतक प्रहार गरेका छैनन् । यस्तै, फस्र्ट क्लास र लिस्ट ए क्रिकेटमा पनि उनले शतक प्रहार गरेका छैनन् । उनी ब्याटिङमा भन्दा बलिङमा निकै जमेका छन् । उनले वानडे अन्तर्राष्ट्रियमा १०९ विकेट लिएका छन् भने टी २० अन्तर्राष्ट्रियमा ८९ विकेट हासिल गरेका छन् ।
मार्क वाटको रेकर्ड

-उक्त शतक जारी एनपीएल–२ मा पहिलो र एनपीएल इतिहासमा अहिलेसम्म दोस्रो हो । गत एनपीएल–१ मा पोखरा एभेन्जर्सका लागि एन्ड्रेस गसले १०४ रनको शतक बनाएका थिए ।

-कम बलमा शतक प्रहार गर्ने रेकर्ड राखेको । उनले ४१ बलमा १२ छक्का र ६ चौकाको सहयोगमा शतक प्रहार गरेर पहिलेको रेकर्डलाई ओझेलमा पारेको । गत एनपीएल–१ मा एन्डे«स गसले लुम्बिनी लायन्सविरुद्ध ५५ बलमा शतक प्रहार गरेका थिए ।

–वाटले २९ बलमा अर्धशतक बनाएपछि आक्रमक ब्याटिङ गर्दैं अर्को ५० रन १२ बलमै बटुलेको । उनले लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको एकै ओभरमा लगातार ४ छक्का प्रहार गरेको ।

-उनी ११४ रन जोड्दै एनपीएलमा व्यक्तिगत उच्चतम रन बनाउने खेलाडीसमेत बनेको ।