स्याङ्जा ।
विश्व मत्स्य दिवसको अवसरमा स्याङ्जा जिल्लाको भीरकोट स्थित आँधीखोलामा १ हजार ५ सय भुरा माछा छोडिएको छ । विश्व मत्स्य दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भीरकोट नगरपालिका र मत्स्य विकास केन्द्र मिर्मि, स्याङ्जाको संयुक्त समन्वयमा खोलामा भुरा माछा छोड्ने अभियान चलाइएको हो ।
भीरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्यका अनुसार जलस्रोतमा जैविक विविधता संरक्षण तथा माछापालनमार्फत खाद्य सुरक्षा र पोषण सुधारलाई लक्षित गर्दै स्थानीय आँधीखोलामा भुरा माछा वितरण गरिएको हो । “जलिय जैविक विविधताको प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षामा सम्बद्र्धन” भन्ने नाराका साथ मनाइँदै आएको विश्व मत्स्य दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यो पहललाई महत्वपूर्ण कदमका रुपमा लिइएको उनले बताए ।
नगर प्रमुख कर्माचार्यले स्थानीय जलस्रोतमा प्राकृतिक माछा उत्पादन घट्दै गएपछि त्यसको पुनः स्थापना तथा संरक्षणका लागि अब नियमितरुपमा भुरा माछा छोड्ने कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनका अनुसार आगामी दिनहरुमा नदी तथा अन्य स्थानीय जलस्रोतमा थप भुरा माछा छोड्दै जलजिवन संरक्षणको अभियानलाई निरन्तरता दिइनेछ । कर्माचार्यले भने, “माछाको प्राकृतिक वासस्थान जोगाएर उत्पादन बढाउने लक्ष्यका साथ नगरपालिकाले दीर्घकालीन योजनानुसार काम गर्नेछ,” ।
मत्स्य विकास केन्द्र मिर्मिका प्राविधिक तिलक रावतले आँधीखोलामा छोडिएका भुरा माछाहरुमा स्थानीय तथा आर्थिक हिसाबले मूल्यवान् प्रजातिहरु समावेश गरिएको जानकारी दिए । उनका अनुसार नदीमा मुख्यतः सहर, असला, कत्ले र रोहु प्रजातिका भुरा माछा छोडिएका छन् । यी प्रजातिहरु स्थानिय जैविक विविधतासँग मेल खाने, प्राकृतिक बासस्थानमा छिटो अनुकूलन गर्ने र भविष्यमा स्थानीय उत्पादन बढाउन सहयोगी हुने मानिन्छ । भुरा माछा छोडिएपछि नगरपालिकाले अर्को सूचना जारी नभएसम्म आँधिखोला क्षेत्रमा माछा मार्न रोक लगाएको छ । नगरपालिकाको निर्णयले भुरा माछाको वृद्धि र संरक्षण सुनिश्चित हुने विश्वास लिइएको छ । स्थानीय बासिन्दालाई नदीमा अनावश्यक गतिविधि नगरी संरक्षणमा सहयोग गर्न समेत अनुरोध गरिएको छ । नगरपालिकाले संरक्षण अभियानमा स्थानीय समुदायको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।
विश्व मत्स्य दिवसको सन्दर्भमा देशभर विविध कार्यक्रमहरु सञ्चालन भइरहेकामा भीरकोट नगरपालिका र मत्स्य विकास केन्द्रको यो पहल स्थानीय तहमा जलजिवन संरक्षणका लागि उठाइएको सकारात्मक कदमका रुपमा हेरिएको छ । जलस्रोत संरक्षण, मत्स्य उत्पादन वृद्धि, तथा वातावरणीय सन्तुलन कायम गर्न यस्ता कार्यक्रमहरुले दीर्घकालीन प्रभाव पार्ने विशेषज्ञहरुको भनाइ छ ।
आँधिखोला क्षेत्रका स्थानीयवासीहरुले माछाका भुरा छोडिएको कार्यक्रमप्रति खुसी व्यक्त गर्दै नदीको संरक्षण तथा वातावरणीय सन्तुलनका लागि यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाले समेत आगामी वर्षहरुमा नदी व्यवस्थापन, माछा संरक्षणका लागि कानुनी तथा प्राविधिक पहललाई थप सुदृढ बनाइने जनाएको छ । यसरी भुरा माछा छोड्ने अभियानले आँधीखोलामा जैविक विविधता संरक्षण र स्थानीय स्तरमा पशुपालन तथा मत्स्य व्यवसायलाई अझ सुदृढ बनाउँदै जाने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया