ऊर्जा निर्यात, सकस र सम्भावना

1.03k
Shares

नेपाल भारतको १ सय ३७ औँ व्यापारिक साझेदार हो । विगतमा नेपाल–भारतबीचको दुईपक्षीय विद्युत् व्यापारमा नेपालले घाटा बेहोर्दै आएकोमा हाल ऊर्जाको जडित क्षमता ३ हजार ५ सय मेगावाट पुगेकाले खुद निर्यातकर्ता बनेको छ । जहाँ, सन् २०२२।०२३ मा नेपाल विद्युत् प्राधिकरणले १९.४४ अर्ब रुपियाँको विद्युत् भारतबाट आयात गरेकोमा वर्षायाममा १०.४५ अर्ब रुपियाँको विद्युत् निर्यात गरेको थियो ।

त्यस्तै, सन् २०२३।०२४ मा १६.९३ अर्ब रुपियाँको विद्युत् आयात गरेकोमा १७.०७ अर्ब रुपियाँको विद्युत् निर्यात भएको छ । अर्थात् सन् २०२३।०२४ मा आयातभन्दा १३ करोड रुपियाँ बराबरको बढी विद्युत् निर्यात गरी जलविद्युत्मा नेपाल खुद निर्यातकर्ता बनिसकेको छ ।

निर्यात :

भारतले सौर्य ऊर्जामा लगानी बढाएको भए तापनि सौर्य ऊर्जाले दिनमा मात्र धान्ने हुँदा नेपालको जलविद्युत् भारतलाई आवश्यक पर्दछ । अहिले नेपालमा हरेक वर्ष अप्रिलदेखि नोभेम्बर महिनामा विद्युत् बचत हुने गरकोमा नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे अहेड रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र एनटीपीसी विद्युत् व्यापार निगमलाई मध्यकालीन विद्युत् सम्झौताबमोजिम पूर्वनिर्धारित मूल्यमा विद्युत् बिक्री गर्ने गरेको छ ।

डे अहेड रियल टाइम मार्केट, भोलि बिक्री गरिने विद्युत्को दररेट एकदिनअघि निर्धारण गरी खरिद–बिक्री गर्ने सम्झौता गरिन्छ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सेचेन्ज (आईएक्स) को डे अहेड रियल टाइम मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । शुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यात गर्ने अनुमति प्राप्त गरेको हो । हाल नेपालले डे अहेड रियल टाइम मार्केटमा ९ सय ४१ मेगावाटसम्म विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपियाँ ७२ पैसा रहेको छ । यसरी बचत बिजुली खुला बजारमा बिक्री गर्ने नेपाल दक्षिण एसियामा पहिलो मुलुक भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले एनटीपीसी विद्युत् व्यापार निगमलाई मध्यकालीन विद्युत् सम्झौताबमोजिम पूर्वनिर्धारित मूल्यमा विद्युत् बिक्री गर्ने गरेको छ । सन् २०२४ अगस्त १९ मा नेपाल विद्युत् प्राधिकरणले र एनटीपीसी विद्युत् व्यापार निगमबीच मध्यकालीन सम्झौता भएको हो । मध्यकालीन सम्झौतामा प्रतियुनिट ५.२५ भारतीय रुपियाँ (८ रुपियाँ ४ पैसा नेपाली) मा विद्युत् बिक्री गर्ने गरिएको छ । एनटीपीसीले नेपाल विद्युत् प्राधिकरणबाट खरिद गरिएको १ सय २५.८० मेगावाट विद्युत् हरियाणामा र १ सय २५.४० मेगावाट विद्युत् विहारमा बिक्री गर्ने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । यसअघि १६ वटा आयोजनाबाट उत्पादित ६ सय ९० मेगावाट विद्युत् निर्यात गर्ने स्वीकृति प्राप्त गरेकोमा सन् २०२४ अगस्त १९ मा मध्यकालीन सम्झौता अनुरुप थप १२ वटा आयोजनाबाट उत्पादिन विद्युत् बिक्री गर्ने अनुमति पाएको हो ।

प्रवद्र्धकलाई १० प्रतिशत रोयल्टी लिएर विद्युत् निर्यात अनुमति दिन सकिन्छ । सन् २०२३।०२४ मा १६ अर्र्ब ९३ करोड बराबरको एक अर्र्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएकोमा २०२४।०२५ को पहिलो ५ महिनामा १३ अर्र्ब ४ करोड रुपियाँ बराबरको १ अर्र्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरेको हो ।

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपियाँ ३० पैसा छ ।
भारतले नेपाललाई ढल्केवर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन र महेन्द्रनगर–टनकपुर १ सय ३२ केभी प्रसारण लाइनमार्फत भारतीय ऊर्जा विनियम बजार अर्थात् इन्डेन इनर्जी एक्सचेन्ज मार्केट (आईईएक्स) मा विद्युत् निर्यातका लागि अनुमति प्रदान गरेको छ । त्यस्तै, १ सय ३२ केभीभन्दा कम क्षमताका प्रसारण लाइनमार्फत विद्युत् खरिद–बिक्री गर्न सकिने (विहार तथा आसपासका स्थान) निर्णय ऊर्जा सचिवस्तरीय निर्देशक समिति (जेएससी) ले २०२४ जनवरी ६ मा गरेको छ ।
सकस :

पछिल्लो समयमा भारतले जलविद्युत्लाई व्यापारिक वस्तुभन्दा रणनीतिक वस्तुको रुपमा उपयोग गर्ने रणनीति अवलम्बन गरिरहको छ । मूलतः भारतले ऊर्जा सम्झौता नगरेको मुलुकको लगानीमा उत्पादित विद्युत् आयातमा प्रतिबन्ध लगाउने गरी ऊर्जा खरिद–बिक्री निर्देशिका जारी गरेको छ । सोही कारण भारतले चीनियाँ लगानी वा चिनियाँ ठेकेदार सम्लग्न रहेको आयोजनाबाट उत्पादित विद्युत् खरिद गर्न आनाकानी गर्दै आइरहेको छ ।

अर्थात्, भारतमा विद्युत् निर्यात गर्न जलविद्युत् आयोजनाको मानक उसले जारी गरेको निर्देशिका अनुकूल हुनुपर्दछ । उत्पादित विद्युत् भारतमा बिक्री गर्न उसको निगाह आवश्यक पर्ने गरेको छ । भारतको इच्छाबेगर बंगलादेशमा दीर्घकालसम्म विद्युत् निर्यात गर्न असम्भव छ । त्यस्तै, भारत दीर्घकालीन पीपीए गर्न इच्छुक रहेको छैन । डे अहेड मार्केटमा आफैँ कम जोखिमरहित छैन । वस्तुतः नवीकरणीय ऊर्जाको लागि भारत नेपालमाथि भर पर्न चाहिरहेको छैन ।

त्यस्तै, नेपालमा बचत हुने गरेको विद्युत् कतिपय समयमा भारतले खरिद गर्न अस्वीकारसमेत गर्ने गरेको छ । अर्थात्, नेपालको विद्युत् खरिद गर्ने–नगर्ने भारतको इच्छामा निर्भर गर्ने गरेको छ । वि.सं. २०७८ को वर्षायाममा अधिक भएको विद्युत् भारतलाई बिक्री गर्न नसक्दा ५ सय मेगावाट खेर गई ५ अर्ब रुपियाँ बराबरको नोक्सान बेहोर्न पर्नु त्यसैको दृष्टान्त हो । अहिले पनि भारतले ९ सय ४१ मेगावाटसम्म मात्र आयात अनुमति उपलब्ध गराएको छ । अर्थात्, उक्त परिमाणभन्दा अधिक विद्युत् चाहेर पनि बिक्री गर्न सकिने अवस्था छैन ।

बंगलादेशमा ठूलो परिमाणमा विद्युत् निर्यात गर्न सक्ने गरी मार्गप्रशस्त हुन सकिरहेको छैन । बंगलादेशमा बेरोकटोक विद्युत् निर्यात गर्न डेडिकेटेड प्रसारण लाइन आवश्यक पर्ने भए तापनि भारत सहमत भइसकेको छैन् । बंगलादेशमा विद्युत् पु¥याउन उपयोग गरिएको ४ सय केभी प्रसारण लाइनको वहरामपुरा–भेरामारा क्षेत्रको क्षमता १ हजार मात्र रहेकोमा ९ सय ६० मेगावाट बराबरको क्षमता भारतले उपयोग गरिसकेको कारण ४० मेगावाट मात्र पठाउन सकिएको अवस्था छ ।

यसको विकल्पमा डेडिकेटेड लाइन निर्माणका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता आवश्यक पर्दछ । तर उक्त कुरा भारतलाई मनाउनु सोचेजस्तो सहज र सरल छैन् । त्यस्तै, भारतले स्वीकृति उपलब्ध गराएकोे आयोजनाबाट उत्पादित विद्युत् मात्र बंगलादेशमा निर्यात गर्न सकिने अवस्था छ । अर्थात्, नेपालले चाहेको आयोजनाको विद्युत्भन्दा भारतले स्वीकृत जनाएको आयोजाको विद्युत् निर्यात गर्नुपर्ने बाध्यता छ । अर्को शब्दमा भन्नुपर्दा, बंगलादेशमा निर्यात गरिने विद्युत् भारतीय अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका अनुकूल हुनुपर्दछ । त्यस्तै, बंगलादेशमा विद्युत् निर्यात गर्न भारतीय प्रसारण करिडोर बुकिङ गर्नुपर्दछ ।

सम्भावना :

नेपालमा पेट्रोलियम पदार्थ फेला परे तापनि उत्खखन हुन सकेको छैन । उत्खनन भइहाले पनि ठूलो परिमाणमा उत्पादन हुन सक्नेमा शंका छ । युरोनियम रहेको पहिचान भए तापनि उत्खनन गर्न सकिएको छैन । सुन रहेको ठोस तथ्य फेला नै परेको छैन । यसर्थ, निजी क्षेत्रको अगुवाइमा तरक्की गर्न सकिने भनेको जलविद्युत् नै हो । पछिल्लो १० वर्षमा जलविद्युत् उत्पादनले गुणात्मक फड्को मारेकाले अबको निर्यात सम्भावना बोकेको वस्तु भनेको जलविद्युत् नै हो ।

आगामी समयमा विद्युत् बचत तथा खुद आम्दानी गर्न सक्ने सम्भावनाको जहाँसम्म सवाल छ, नेपाल विद्युत् प्राधिकरणले सन् २०२१।०२२ मा १० अर्ब ४० करोड रुपियाँ बराबरको, सन् २०२२।०२३ मा १४ अर्ब रुपियाँ बराबरको, सन् २०२३।०२४ मा १६ अर्र्ब ९३ करोड बराबरको विद्युत् भारतमा निर्यात गरकोमा यो परिमाण सन् २०३० मा ३.१० खर्ब हुँदै २०४५ सम्ममा १०.६९ खर्ब पुग्ने अनुमान गरिएको छ । अर्को शब्दमा भन्नुपर्दा, सन् २०२५।०२६ मा २ हजार ४ सय ५६ मेगावाट र २०२७।०२८ मा विद्युत् बचत ३ हजार मेगावाट हुने अनुमान छ । जहाँ, २०२६ मा ४० हजार गिगावाट प्रतियुनिट औसत १० रुपियाँका दरले १४ अर्ब खुद आम्दानी गर्न सक्ने आँकलन गरिएको छ ।

जलविद्युत् कच्चा पदार्थ हो र कच्चा पदार्थ बिक्री नै गर्नुहुँदैन भन्ने आफैँमा गलत धारणा हो । मुलुकभित्र ऊर्जा सुरक्षा प्रत्याभूत गरी बचत भएको विद्युत् बिक्री गर्नु आफैँमा गलत होइन । अरब मुलकहरु तेल बेचेर धनी भएजस्तै नेपाल जलविद्युत् बेचेर धनी हुन सक्छ । नेपाल–भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) सम्पन्न भइसकेको सन्दर्भमा भारतमा जलविुद्यत् निर्यातका लागि बर्सेनि अनुमति लिनुपर्ने, चाहेजति बचत विद्युत् बिक्री गर्न नसकिने, विद्युत् खरिद गरिदिन भारतको पाउ ढोग्नुपर्नेजस्ता व्यवधानहरु निरुपण गर्नु राज्यको दायित्व हो । कूटनीतिक तहमा उक्त दायित्व राज्यले निभाउनुपर्दछ ।

ऊर्जाशक्तिको लागि प्राकृतिक ग्यास र तापीय ऊर्जा (थर्मलपावर) मा निर्भर बंगलादेश भारतपश्चात् नेपालको बिजुली बिक्री गर्न सकिने दोस्रो बजार हो । नेपालको विद्युत् बंगलादेशका लागि आधा सस्तो पर्न जान्छ । यसैले बंगलादेशले नेपालबाट पहिलो चरणमा २०२४ नोभेम्बर १५ देखि ४० मेगावाट विद्युत् आयात थालनी गरेको छ । बंगलादेशलाई प्रतियुनिट औसत ८ रुपियाँ ५० पैसामा विद्युत् निर्यात गरिएको हो । बंगलादेशमा सफा ऊर्जाको अभाव रहेको र नेपालबाट ठूलो परिमाणमा विद्युत् खरिद गर्न चाहिरेकाले भारतसँग सहकार्य गरी प्रसारण लाइन तयारीसहित विद्युत् बिक्रीका लागि तयारी रहनुपर्दछ ।