रंगशालासँगै जोडिएको छात्रावासलाई सुरक्षा दिन आग्रह: क्यानलाई मस्ती, त्रिविलाई सास्ती

4.98k
Shares

रंगशालासँगै जोडिएको छात्रावासमा समस्या

-सुरक्षा निकाय भन्छ : छात्रावासमा सुरक्षा दिनेछौं

-क्यान भन्छ : समस्या नपरोस् भनेर राती खेलाएका हौं

काठमाडौं

नेपाल क्रिकेट संघले (क्यानले) आजबाट आयोजना गर्ने नेपाल प्रिमियर लिग (आइपीएल) प्रतियोगितामा क्यानलाई मस्ती भए पनि त्रिविले सास्ती बेहोर्नुपरेको छ । रंगशालासँगै रहेको छात्रावासका विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयले त्रिविलाई सास्ती दिएको हो ।

रातीको खेल हुँदा रंगशालासँगै जोडिएको भवनमा ९० र अन्य गरी करिब ३ सय छात्रालाई समस्या पर्नेछ । महिला छात्रावासमा हुलहुज्जत गर्ने सम्भावना देखेपछि त्रिविले आयोजकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रवार सम्पन्न बैठकमा क्यानका सचिव पारस खड्काले एनपीएल गत वर्षभन्दा व्यवस्थित र सुरक्षित हुन बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले सबै व्यवस्था गरेका छौं, छात्रावासको विषयलाई गम्भीरताका साथ लिएका छांै । ८ दिन दिउँसो र २४ खेल रात्रिकालीन हुनेछ ।’
सचिव खड्काले पढाइ र परीक्षामा बाधा नहोस् भनेर रात्रीकालीन खेललाई बढी प्राथमिकता दिएको बताउनुभयो । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, त्रिविका उपकुलपति दीपक अर्याल, रेक्टर, रजिस्टार, सामान्य प्रशासन महाशाखा, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख र स्ववियु सभापति उपत्यकाका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौैैैैं प्रहरी परिसर प्रमुख लगायतको उपस्थिति रहेको थियो । त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले विशेषगरी छात्रावासमा रहेका करिब ३ सय छात्रालाई समस्या नपर्नेगरी सुरक्षित रूपमा खेल खेलाउन आग्रह गर्दै भन्नुभयो– ‘बैठकमा क्यानका सचिव खड्का र सुरक्षा निकायका अधिकारीले त्रिविभित्र कुनै पनि समस्या नहुनेगरी कडा सुरक्षा व्यवस्था मिलाइएको छ । त्रिविले प्रतियोगिताको विरोध गरेका होइन, व्यवस्थित गर्न आग्रह गरेका हौं ।’

राष्ट्रिय स्तरको क्रिकेट कार्यक्रम सुरुमा नै विकास भएको भए अन्य मुख्य स्थानमा उहिल्यै रंगशाला बनिसक्ने थियो भन्दै उपकुलपति अर्यालले अहिले त्रिवि परिसरमा बनेकोले केही समस्या भएको जिकिर गर्नुभयो ।

उहाँले प्रतियोगिता अवधिभर शान्तिपूर्ण रूपमा खेल आयोजना गर्न आयोजकसँग आग्रह गर्दैगर्दा क्यानका सचिव खड्काले टिकट काटेपछिको व्यवस्थापन, प्याराफिट, फ््लड लाइटको व्यवस्था भएपछि कुनै समस्या नभएको बताउनुभएको थियो । प्यारोफिटमा ९ हजार ४ सय १७ दर्शक अटाउँछ । बैठकमा प्रमुख जिल्ला अकिकारी पौडेलले त्रिविमा कुनै पनि समस्या नपर्नेगरी खेल व्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।

अघिल्लो वर्षको प्रतियोगितामा एनपीएल हेर्न रंगशाला पुगेका दर्शकले बस्ने स्थान नपाएपछि पटकपटक हुल हुज्जत भएको स्मरण गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापति दीपकराज जोशीले भन्नुभयो– ‘परीक्षा सञ्चालन भइरहेको छ, त्यसलाई बाधा हुनु भएन । विगत वर्षको जस्तो जताततै फोहोर हुनुभएन । गल्र्स होस्टलमा रहेका करिब २ सय विद्यार्थीलाई कुनै समस्या पर्र्नुभएन ।’ गतवर्ष फोहोरको डुंगुर सफा गरेको स्मरण गराउँदै उहाँले यो वर्ष कुनै पनि किसिमको फोहोर नहोस् र त्रिविमा भएको क्रिकेटले विश्वमा नाम अघि बढाओस् भन्नुभयो । गत वर्ष खेल सकिएको ३ दिन बितिसक्दा जताततै फोहोरको डुंगुर थुप्रिएको थियो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीलाई सीडीयो साबले सबै विषयमा जानकारी गराइसक्नुभयो । पूर्ण रूपमा शान्ति सुरक्षाको प्रत्याभूति दिइने बताएपछि हामीले नकरात्मक कुरा गरेनौं ।’

गत वर्ष झन्डै एक अर्ब रुपियाँभन्दा बढी व्यापार गर्न सफल सो प्रतियोगितामा क्यानले त्रिभुवन विश्वविद्यालयलाई कुनै आर्थिक सहयोग गरेको थिएन । तर, यो वर्ष भने केही सहयोगको आशा गरिएको स्ववियु सभापति जोशीले बताउनुभयो ।

आजबाट सुरु हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताबाट क्यानले करिब ४० करोड आम्दानी गर्ने लक्ष्य लिएको जनाएको छ ।

रंगशालाको जग्गा कौडीको भाउमा

त्रिभुवन विश्वविद्यालयको करिब ८० रोपनी जग्गा कौडीको भाउमा लिजमा लिएर क्रिकेट रंगशाला तयार भएको छ । आजभन्दा २२ वर्षअघि अर्थात २०५९ पुस २४ गते त्रिवि कार्यकारी परिषद्को बैठकले उक्त क्षेत्रफलको जग्गामा त्रिकेट मैदान बनाउन दिने निर्णय गरेको थियो । वार्षिक ९ लाख रुपियामा लिजमा दिएको सो जग्गाको भाडा बढेको छैन । त्रिविले अब क्यानसँग सम्झौता नवीकरण गर्दा भाडामा हेरफेर हुने जनाएको छ । त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख ज्ञानबहादुर राईले आगामी साल नवीकरण गर्दा लिज सम्झौतामा हेरफेर हुने जानकारी दिनुभयो । भन्नुभयो–आउँदो वर्ष चैतमा नवीकरण गदैछौं, त्यसबेला भाडामा हेरफेर हुनेछ ।

क्यानले ७८ रोपनी जग्गा त्रिविसँग लिजमा लिएको छ भने अझै करिब २ सय रोपनीभन्दा बढी जग्गा भोगचलन गर्ने तयारी गरिरहेको छ । मूलपानीको मैदानलाई बनाउन छाडेर त्रिविको भौतिक संरचना विकास गरेको क्यानसँग अब वार्षिक कति रुपियाँमा कतिवर्षसम्म सम्झौता गर्ने भन्ने निर्णय हुन बाँकी छ ।