अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०१८ देखि आईसीसीसँग आबद्ध रहेका एसोसिएट राष्ट्रहरूको क्रिकेट संरचनालाई बलियो बनाउन वर्ल्डकप लिग टू प्रतियोगिता शुरु गरेको हो । यसमा टेस्ट क्रिकेट खेल्ने राष्ट्र बाहेकका आईसीसीसँग असोसिएट समूहका ८ बलिया राष्ट्रहरू समावेश हुन्छन् ।
अहिले लिग टू मा नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिबिया, र संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गरिरहेका छन् । अंकतालिकामा अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड र नेदरल्यान्डस् क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
यसमा प्रत्येक राष्ट्रले तीन वर्षभित्र ३६ एकदिवसीय खेल खेल्ने प्रावधान रहेकोले यसले सहभागी राष्ट्रको क्रिकेट स्तर वृद्धि गर्न निकै मद्दत पुगेको पनि देखिएको छ । यसमा प्रत्येक राष्ट्रले नौ वटा वानडे फरम्याटमा सिरिज खेल्ने प्रावधान रहेको छ । प्रत्येक सिरिजमा ३ टोलीको सहभागिता हुन्छन् । जसअनुसार एक टोलीको भागमा चार खेल हुन्छ ।
यसरी नौ सिरिजमा एक टोलीले ३ वर्षमा ३६ खेल खेल्न पाउनेछ । आईसीसीले वर्षमा एउटा टोलीको भागमा तीन सिरिज ( होम र अवे गरी) छुट्टयाएको छ । अर्थात् एक देशले वर्षमा १२ वटा वानडे खेल खेल्छ । यो भनेको टेस्ट नखेल्ने राष्ट्रको लागि क्रिकेटको विकास गर्न पर्याप्त आधार पनि हो ।
गत २०१८–२०२३ को वल्र्डकप लिग टूमा सात टोली थिए । यसपालि नेदरल्यान्ड्स थपिएपछि टोलीको संख्या आठ पुगेको हो । तर एक टोली बढे पनि खेलसंख्या भने ३६ नै गरिएको छ । यसो गरिँदा एउटा टोलीको एउटा देशको भ्रमण काटिएको छ । जसअनुसार नेपालकै कुरा गर्ने हो भने नेपालले नामिबियामा गएर खेल्दैन भने क्यानडा नेपाल आएर खेल्दैन ।
वर्ल्डकपको यात्रा
सन् २०२६ को डिसेम्बरसम्म सबै खेल (कुल १ सय ४४ खेल) समाप्त भएपछि अंकतालिकामा शीर्ष चार हुने टोलीले आगामी २०२७ को वल्र्डकप क्वालिफायरमा प्रवेश पाउनेछ । साथै यी चारै टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता पनि जोगिनेछ ।
शीर्ष चारमा पर्न नसक्ने टोलीसँग भने एउटा विकल्प बाँकी रहने छ । यी चार टोलीहरू (पाँचौदेखि आठौं स्थानसम्म) ले ’वल्र्डकप क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ । प्लेअफमा आठ टोली हुने छन् ।
’वर्ल्डकप च्यालेन्ज लीग’ का शीर्ष चार टोली र लिग २ बाट रेलिगेट भएका चार टोलीबीच प्रतिस्पर्धा हुने छ । त्यसमा शीर्ष चारमा स्थान बनाउन सक्ने टोलीहरूले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको मान्यता प्राप्त गर्नेछ । साथै वल्र्डकप छनोटमा पनि स्थान बनाउने छन् ।
हाल नेपाल सातौं स्थानमा
जारी वल्र्डकप लिग टू मा हाल नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले पाँचौं सिरिज खेलिसकेको छ । यानि नेपालले २० खेल खेलिसकेको छ । यसमा नेपालले १२ अंक जोडेको छ । हालै यू्रएईको त्रिकोणात्मक सिरिजमा नेपालले कुनै पनि अंक जोड्न सकेन ।
नेपालको लागि अब ४ सिरिज गरी १६ खेल खेल्न बाँकी छ । यसमध्ये नेपालले दुई सिरिज आफ्नै त्रिवि मैदानमा खेल्नेछ । जसबाट नेपालले कमसेकम १२ अंक जोड्न सकिने आसा लिएको छ । अर्को दुई सिरिज भने नेदरल्यान्ड्स र ओमानमा खेल्ने कार्यक्रम रहेको छ । यसमा पनि ६ खेल जित्न सकेमा नेपालको शीर्ष चारमा अटाउने सम्भावना बन्न सक्नेछ ।
नेपालले खेल्ने आगामी सिरिजहरू
२०२५ नोभेम्बर : नेपाल, ओमान र यूएई (आयोजक नेपाल)
२०२६ अगस्ट : नेदरल्यान्ड्स, नेपाल र नामिबिया (आयोजक नेदरल्यान्ड्स)
अक्टोबर : ओमान, नेपाल–क्यानडा (आयोजक ओमान)
नोभेम्बर : नेपाल, स्कटल्यान्ड र अमेरिका ( आयोजक नेपाल)











प्रतिक्रिया