गुल्जार पाटन !

1.97k
Shares

नेवार रैथाने बासिन्दा भएका हुँदा नेवारी गीत, भजन गाइन्छ । हरेक गल्लीमा मन्दिर भएका कारण यहाँका रैथानेको पनि छुट्टै पहिचान छ । उनीहरू आफ्नै मौलिक संस्कृतिमा रमाएका छन् । त्यस्तै, पाटनको गल्लीमा एक जना मिसले कराँते सिकाइरहेको पनि पाइन्छ । तीस–पैंतीस जना बालबालिकाले मिसको तालिम लिने गर्छन् ।

ऐतिहासिक कालखण्डमा उल्लेख भएअनुसार पाटन कला, संस्कृति र सभ्यताको पर्याय हो । आज पनि पाटनले नेपालको गौरव, परिचय र पहिचान बोकेको छ । वास्तुशास्त्रको वैदिक शैलीमा संरचित पाटन दरबार स्क्वायर पाटनको मुख्य आकर्षण भए तापनि यस सहरमा अरू पनि रहस्यमय र सुन्दर विषय छन् । पाटनमा अरू ठाउँभन्दा भिन्न माहोल छ । दिउँसो सीमित हलचल हुने यो सहर राति आफ्नै मौलिकतामा रमाउँछ । पाटनको गल्लीमा गीत बज्छ, भजन गाइन्छ, कराँते सिकाइन्छ, मञ्चमा प्रदर्शन गरिन्छ ।

रात्रि समयमा पाटन अलि भीडभाडयुक्त हुन्छ । दरबार स्क्वायरको प्राङ्गणमा कैयौँ मान्छे आएर चिया, पानी, आइसक्रिमलगायतका खानेकुरा खाँदै वातावरणको रमाइलो लिन्छन् । त्यस्तै कैयौं मानिस त्यहाँ खानेकुरा बेच्न पनि आउँछन् । नौ–दश वर्षका कलिला बालबालिकाले पनि आर्थिक रकम जुटाउन चिया बेच्न त्यहाँ आउँछन् । पर्यटकले पनि पाटनको रात्रिकालीन समय रुचाएको पाइन्छ । कला, संस्कृति र सभ्यताले भरिएको पाटन पर्यटकलाई आकर्षण गर्न रातिमा चमक लिएर खडा हुन्छ ।

दरबार स्क्वायरको भित्रभित्र जाँदा साँघुरा गल्ली भेटिन्छन् । भौतिक रूपमा साँघुरा ती गल्लीमा चित्रकलाका विभिन्न स्वरूप झल्किने चित्र बिक्रीका लागि राखिएको पाइन्छन् । ती गल्लीका प्रायः सबै घर पौराणिक शैलीमा संरचित छन् । जसले पाटनलाई छुट्टै पहिचान दिएको छ । रातिमा ती गल्लीमा उज्यालो पार्न बत्ती बालिन्छ । घरको बीचमा सडक बनाइएको पाटनको त्यस साँघुरो गल्लीमा रातिको उज्यालोमा हिँड्दा खुब रमाइलो हुन्छ । होटलमा पाकेका नेवारी प्राचीन पकवानले त मन नै हर्षित बनाउँछन् । बाटोमा खेलिरहेका बालबालिकाले गल्लीलाई नै आलोकित बनाउँछन् ।

पाटनको त्यसै गल्लीमा करिब नौ–दशओटा भजन गाउने ठाउँ छन् । नेवार रैथाने बासिन्दा भएका हुँदा नेवारी गीत, भजन गाइन्छ । हरेक गल्लीमा मन्दिर भएका कारण यहाँका रैथानेको पनि छुट्टै पहिचान छ । उनीहरू आफ्नै मौलिक संस्कृतिमा रमाएका छन् । त्यस्तै, पाटनको गल्लीमा एक जना मिसले कराँते सिकाइरहेको पनि पाइन्छ । तीस–पैंतीस जना बालबालिकाले मिसको तालिम लिने गर्छन् । इतिहासको सभ्यताले सिँगारेको रातमा बालबालिकाको आवाजले पाटनमा रौनक ल्याउँछ ।

संस्कृतिको साझा, सभ्य र भव्य सुसंस्कृतिले भरिएको पाटनमा विभिन्न कार्यक्रम मञ्चन पनि हुन्छन् । आन्तरिक र बाह्य पर्यटकलाई संस्कृतिका स्वरमा सुर मिलाउन मद्दत गर्ने यी कार्यक्रमले ऐतिहासिक धरोहर कायम राखेका छन् ।

पाटन संसारका सबैभन्दा सुन्दर सहरमध्ये एक हो । यसको रौनकता बढाउनु हामी समग्र नेपालीको दायित्व हो । रात्रिकालीन समयमा सुरक्षा प्रदान गर्नु पनि हाम्रै जिम्मेवारी हो । जीवनमा एकपटक सम्भव भएसम्म पाटनको रात्रिकालीन चहलपहल अनुभव एकपटक सबैले गर्नुपर्छ ।