दोलखा।
दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको क्रममा हिम पहिरोमा परी बेपत्ता आरोहिहरुको खोजिकार्य शुक्रवारबाट स्थगित गरिएको छ । सोमवार हिम पहिरोमा परी बेपत्ता भएकाहरु को खोजि मंगलवारबाटै सुरु गरिएको थियो ।
अब हिउँ निक्कै कडा भएको छ र त्यसलाई खन्न सम्भव देखिदैन, त्यसैले हाललाई खोजिकार्य स्थगित गर्ने निर्णयमा पुगेका छौ– खोज तथा उद्दार टोलिका कमाण्डर पासाङ किदर शेर्पाले भने । खोजिको क्रममा दुई जना विदेशी आरोहिको शव भेटिएको छ । दुई नेपाली सहित पाँच जना जिवित पक्कै छैनन् तर शव निकाल्न सकिएन उनले भने । भेटिएका शवमा फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे र इटलिका पाउलो कोको को रहेको पासाङ किदर शेर्पाले जानकारी दिए ।
अब खोजिकार्य कैलेबाट सुरु हुन्छ भन्ने स्पष्ट जवाफ उनीसंग छैन । त्यो मौसममा निर्भर गर्छ, उनले भने– तर यो सिजनमा सम्भव छैन ।
गत कार्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ को रोल्वालिङ क्षेत्रमा पर्ने ५६३० मिटर उँचाईको यलुङ रि हिमाल आरोहणको लागि गाइड र आरोही गरी १५ जनाको टिम पुगेको थियो । कार्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि निस्किएको टिम करिब ८ बजे यलुङ रिको चुचुरा पुग्नु केही मिनेट अघि हिम पहिरोमा परेका हुन् ।
मंगलवारबाट सुरु भएको खोज तथा उद्दारको क्रममा सोही दिन आठ जनाको सकुशल उद्दार गरिएको थियो । चार दिनको अवधिमा बेपत्ता दुई विदेशीको शव भेटिएपनि दुई नेपालीसहित पाँच जनाको अवस्था अज्ञात छ । सबैतिर हिउँले ढाकिएको छ र हिउँ निक्कै कडा भै सकेको छ, खोज तथा उद्दार टोलिका कमाण्डर पासाङ किदर शेर्पाले भने– अब तत्काललाई पुरिएका शवहरु निकाल्ने संभावना देखिदैन ।
खोज तथा उद्दारको लागि नेपाल नेश्नल माउण्टेन गाइड एसोसिएशनबाट पासाङ किदर शेर्पा, रितन जाङ्वु शेर्पा, छिरिङ सोनाम लामा र पासाङ तेन्वा शेर्पा, ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पा तथा सिम्रिक एयरका दुई विदेशी सहित चार जना गरी नौ जनाको टोलि खटिएको थियो ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले पनि खोजिको लागि पुगेको टोलिले अब यो सिजनमा खोजिकार्य सम्भव नहुने भएकोले फर्कन लागेको कुरा जानकारी गराएको बताएका छन् ।
खोज तथा उद्दारको लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि पनि गएको तर मौसमका कारण उक्त टोलि ना गाउँबाट अगाडि बढ्न नसकेको गरुण दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।
खोज तथा उद्दार टोलिका कमाण्डर पासाङ किदर शेर्पाले एक महिना अघिमात्र अक्टोबर ७ तारिखमा आठ जना महिला सहित यलुङ रि हिमालको सफल आराहण गरेका थिए ।
हिम पहिरोमा परी दुई जना नेपाली दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का पदम तमाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्की तथा विदेशी फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासर्पोट नम्बर 9DK92514) एक जना, इटलिका पाउलो कोको (पासर्पोट नम्बर YB6411963) र मार्कोस किरचिलर (पासर्पोट नम्बर YB3843711) दुई जना, जर्मनका ज्याकोब इसरिवर (पासर्पोट नम्बरCHIHX6HRZ) एक जना तथा क्यानेडियन मार्को डि मारसेलो (पासर्पोट नम्बर P823193NG) एक जना गरी सात जना बेपत्ता भएका थिए ।











प्रतिक्रिया