काठमाडौं ।
एक वर्षअघिसम्म अमेरिकी राजनीतिमा लगभग अपरिचित रहेका ३४ वर्षीय दक्षिण एसियाली, मुस्लिम नेता जोहरान ममदानी आज न्युयोर्क सिटीका पहिलो मुस्लिम मेयर बन्नुभएको छ । उहाँ न्युयोर्कको आधुनिक राजनीतिक इतिहासमै सबैभन्दा द्रुत गतिले उदाउने नेतामध्ये एक बन्न पुग्नुभएको छ ।
युवामैत्री, डिजिटल रूपमा प्रभावशाली र ग्रासरूट अभियानमा केन्द्रित ममदानीको उदयले अमेरिकाभर चासो जगाएको छ । टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा गरिएको उहाँको सरल, ऊर्जा–पूर्ण र कहिलेकाहीँ हास्यमिश्रित सामग्रीले नयाँ पुस्ता, श्रमजीवी वर्ग र अश्वेत समुदायलाई ठूलो संख्यामा राजनीतितिर आकर्षित गर्न सफल भएको छ ।
उहाँको अभियानका चर्चित सामग्रीहरू ‘हलालफ्लेसन’ को अवधारणा, कोनी आइल्यान्डको चिसो समुद्री छालमा राजनीतिक सन्देशसहित हाम फालेको भिडियो, न्युयोर्क म्याराथन दौडँदै महँगीबारे कविताले ममदानीप्रति जनताले भर गरेको प्रस्ट सन्देश दिएको छ । न्युयोर्कमा जीवन कठिन छ, तर त्यति कठिन हुनुपर्दैन भन्ने उहाँको भनाइले हजारौँ मतदाताको मन छुन पुगेको थियो ।
गत वर्ष उहाँले ट्रम्प समर्थक वा विरोधी अश्वेत तथा श्रमिकहरूसँग गरेको खुला सडक अन्तर्वार्ताले विशेष चर्चा बटुलेको थियो । यस्तो सीधै जनसमुदायमा पुग्ने शैलीले उहाँलाई पूर्व गभर्नर एन्ड्रयु कुमोभन्दा फरक उम्मेदवारका रूपमा उभ्याउन सफल भएको थियो ।











प्रतिक्रिया