पार्टी छोडेर गएकाहरूलाई ओलीको आह्वान : ‘आफ्नै घर फर्किनुस्’


काठमाडौँ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर गएका सबै नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन्। उनले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्धिको यात्रामा एमालेको अग्रणी भूमिका स्मरण गर्दै शुक्रबार फेसबुकमार्फत ‘आफ्नै घर फर्किन’ सबैसँग आग्रह गरेका हुन्।

ओलीले एमालेलाई केवल एउटा राजनीतिक संगठन नभई “जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार” को रूपमा चित्रण गरेका छन्। उनका अनुसार, तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण यो पार्टीको जग बसाल्न अर्पण गरेका छन् — “कसैले जेल यातना भोगे, कसैले जीवन बलिदान गरे, धेरैले सानो–ठूलो योगदान दिएर यो घरलाई अड्याए।”

देश अहिले गम्भीर संकटमा परेको उल्लेख गर्दै ओलीले लोकतान्त्रिक संविधान र राष्ट्रिय अस्तित्वमाथि आक्रमण भइरहेको दाबी गरे। उनले भने, “अहिले महाविनाश निम्त्याउने खतरा देखिएको छ, यस्तो बेला हामी मौन बस्न सक्दैनौँ।”

देशको स्वाभिमान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षाका लागि सबै एकै स्वरमा अघि बढ्नुपर्ने बताउँदै ओलीले विगतमा एमाले निर्माणमा योगदान पुर्‍याएका सबैलाई पुनः एउटै परिवारभित्र फर्किन आग्रह गरे।

ओलीले पुनः एकताको सन्देश दिँदै भनेका छन्, “हामी एउटै परिवार हौँ, हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली। कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घर फर्किनुस्। निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ।”