परानले ओई भन्दा नि बोलेन


पारिवारिक कथामा बनेको फिल्म परानमा समावेश पहिलो गीत ओई भन्दा नि बोलेन सार्वजनिक गरिएको छ। हालै राजधानीमा आयोजित कार्यक्रमकाबीच फिल्मको रमाइलो नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो।


सार्वजनिक गीत विवाहको परिवेशमा आधारित छ। भिडियोमा फिल्मका अधिकांश शीर्ष कलाकारहरूलाई एउटै फ्रेममा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, अञ्जना बराइलीलगायत कलाकारको नृत्य र अभिनय छ। दर्शक नचाउने खालको गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना विकको स्वर, दीपकप्रसाद आचार्य र अनिश अधिकारीको शब्द रचना तथा रिदम कंडेलको संगीत संयोजन रहेको छ। गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन्।

कार्यक्रममा बोल्दै फिल्मका निर्माता, निर्देशक तथा कलाकारले गीत दर्शकले रुचाउने विश्वास व्यक्त गरे। दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको फिल्म आगामी कात्तिक १४ गते अल नेपाल रिलिज हुनेछ। सासले होइन, साथले चल्ने ट्यागलाइन रहेको फिल्म गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा रञ्जित आचार्य र शेखर गोल्छाले निार्माण गरेका हुन्। दीपक आचार्यको कथा रहेको फिल्ममा पटकथा र संवाद यम थापा, डीओपी शिवराम श्रेष्ठ र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।