काठमाडौँ।
काठमाडौँ दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले जिवित देवी कुमारी परम्पराप्रति नगर प्रहरीले असंवेदनशील व्यवहार गरेको आरोप लगाउँदै काठमाडौँ महानगरपालिकासमक्ष चार बुँदे मागपत्र पेस गरेको छ।
महासमितिले बिहीबार महानगर प्रमुख बालेन्द्र शाहलाई सम्बोधन गर्दै दिएको पत्रमा महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पदबाट राजीनामा गर्न माग गरिएको छ। पत्रमा पाण्डेले गल्ती स्विकार गरी “आत्मग्लानीका साथ स्वइच्छाले राजीनामा दिनुपर्ने” भनिएको छ।
महासमितिले प्रमुख पाण्डेले राजीनामा नदिए महानगर प्रमुख शाहले उनलाई बर्खास्त गर्नुपर्ने माग पनि गरेको छ। त्यसैगरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत कार्यरत महानगर प्रहरीहरूको “विकल्प कार्यान्वयन गर्नुपर्ने” र कुमारी परम्पराको अपमानबारे महानगर प्रमुख स्वयंले जिम्मेवारी लिँदै “सार्वजनिक माफी मागी कुमारीघरमा क्षमापूजा गर्नुपर्ने” माग गरिएको छ।
महासमितिले दरबारक्षेत्र संरक्षण र सम्पदा संवर्द्धनका विषयमा विगतमा महानगरसँग पटक–पटक सहमति भए पनि ती कार्यान्वयन नहुँदा “हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको औचित्यमै प्रश्न उठेको” जनाएको छ।
, “विगतमा पटक–पटक आश्वासन दिएर धोका दिइएकाले अब यस विषयमा छलफलका लागि केवल महानगर प्रमुख स्वयं सँग मात्र वार्ता गर्ने निर्णय गरिएको छ।”पत्रमा भनिएको छ।
उक्त मागपत्रमा दरबारक्षेत्रका विभिन्न स्थानीय क्लब र गुठी संस्थाहरू- सिन्हः स्वा खलः, मरुहिती क्लब, महादेव मसन क्लब, श्रीखण्डतरुमुल महाविहार संरक्षण समिति, बन्जाहिती युवा क्लब, संयुक्त युवा क्लब, बज्र कला कुञ्ज, गंगा क्लब, मरु त्वाः पुचः र बसन्तपुर त्वाः पुचः—को सहमति र समर्थन रहेको समितिले जनाएको छ।

यो पनि
https://newsofnepal.com/2025/10/09/734401/











प्रतिक्रिया