काभ्रे ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विपी राजमार्गमा सवारी साधन संचालन गर्न रोक लगाएको छ । रोशी खोलामा वहाव बढेको तथा राजमार्गका विभिन्न स्थानमा लेदो बगेका कारण सवारी साधन संचालनमा रोक लगाएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार विपी राजमार्ग अर्काे सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको जानकारी दिए । ‘रोशी खोलाको वहाव बढेको, विभिन्न स्थानमा लेदो बगेर राजमार्ग अवरुद्ध भएकाले बन्द गरेका हौं’–प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने–‘विपद ब्यवस्थापन समितिको आकस्मिक बैठक दिउसो ११ बजे बोलाएका छौं । उक्त बैठकबाट थप निर्णय हुनेछ ।’
जिल्लाका अधिकांश स्थानमा निरन्तर राति देखि नै बर्षात भईरहेको छ । यस अघि निरन्तरतको वर्षातले थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले विपी राजमार्गको धुलिखेल, काभ्रेभन्ज्याङ्ग, भकुण्डे र मंगलटारमा सवारी साधन होल्ड गराएको छ ।
भकुन्डे क्षेत्रमा अत्याधिक वर्षातका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि सवारी साधन होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिल धाँजुले जानकारी दिए । ‘अहिले विपी राजमार्गका विभिन्न खण्डमा सवारी साधन होल्ड गरिएको छ ।
होल्ड गरिएका सवारी साधनलाई सुरक्षित स्थानमा राख्नका लागि भनिएको छ’–प्रहरी निरिक्षक धाँजुले भने–‘रोशी क्षेत्रको मंगलटारमा लेदो बग्न थालेको छ । तर सवारी आवागमन रोखिएको छैन । होल्ड गराईएको छ ।
रोशी खोला बढेर हुन सक्ने जोखिम न्यूनीकरण गर्न चौकीडाँडाबाट भकुण्डेसम्मका सवारी साधनलाई भकुण्डेमा होल्ड गराईएको छ । काभ्रेभन्ज्याङ्ग र धुलिखेलमा पनि सवारी साधन होल्ड गराईएको छ ।’
अरनिको राजमार्गको धुलिखेल खावा खण्ड स्थित तिरतिरे धारा नजिकै गएको पहिरोका कारण एकतर्फी मात्रै सवारी साधन संचालन भएको छ । ट्राफिक प्रहरी, नेपाल प्रहरी, शशस्त्र प्रहरी र जिल्ला स्थित विपद ब्यवस्थापन समितिले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र घरबाट बाहिर ननिस्कन नागरिकहरुलाई माईकिङ्ग गरिरहेको छ ।











प्रतिक्रिया