विद्युत सर्टका कारण देशभर आगलागी, लाखौँको क्षति


काठमाडौं ।

विद्युत सर्टका कारण सोमबार राति र मंगलबार बिहान विभिन्न स्थानमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कैलालीको भजनी नगरपालिका–३ मा कलम चौधरीको घरमा लागेको आगोले करिब २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। सप्तरीको राजगढ गाउँपालिका–३ मा सुरेन्द्र प्रसाद साहको किराना पसल पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका–१३ मा बेद बहादुर बोटेको पसलमा आगलागी हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। सुनसरीको धरान उपमहानगरपालिका–८ मा जसमाया तामाङको घरमा लागेको आगोले १० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।