नर्भिकको सेयर निष्कासन प्रक्रिया सुरु हुँदै


काठमाडौं ।

नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न पाचौँ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाले चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ । साविकका सञ्चालकहरू नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो ।

निर्वाचित हुने सञ्चालकहरूमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहनुभएको छ । यसै गरी, लेखा परीक्षकमा एसआर पाण्डे एन्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौं साधारणसभा हो ।

नर्भिकले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।