सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव


काठमाडौँ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको शुक्रबार बसेको ४९१औं सञ्चालक समितिको बैठकले यो लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छ ।

यसरी, बैंकले कुल ७७,७३,१६,४७१.८९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

७ वैशाख २०६४ बाट कारोबार सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै आफ्ना सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्न सफल भएको बैंकको भनाइ छ ।

आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८१र८२ सम्मको औसत लाभांश दर ११.८७ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १०.५२ प्रतिशत रहेको छ ।शब्दशिविर