मन्त्रीमा समेटिएका अधिकांशको उमेर जेनजीको भावना विपरीत

जेनजी समूहका युवाहरू कोही पनि परेनन्


-अब बनाइने मन्त्रीमा जेनजी समूहबाटै समेट्न माग 

काठमाडौं। 

जेनजी आन्दोलनको बलमा बनेको  वर्तमान सरकारका  प्रधानमन्त्री, मन्त्रीहरु मध्ये अधिकांश मन्त्रीहरु जेनजीको भावना विपरीत बढि उमेर समूहका नियुक्त भएका छन् । जेनजीले आन्दोलनको सफलता सँगै बन्ने नयाँ सरकारमा आफूहरूको भावना समेट्ने युवाहरुको सहभागिता उल्लेख्य  हुनुपर्ने  माग गर्दै आएका छन्  । तर जेनजीको सो माग विपरीत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्मा जेनजी पुस्ताका कुनै पनि युवालाई समेट्न सकेकी छैनन् । 

कार्कीलाई भने सुशासन कायम गर्न सक्ने, दृढ र इमान्दार व्यक्ति भएको भन्दै  जेनजी पुस्ताले नै भोटिङ मार्फत नै चयन गरेका थिए । कार्की आफै पनि ७३ वर्षकी छन्  । उनी २००९ साल २५ जेठमा जन्मिएकी हुन् ।  त्यसपछि अन्य मन्त्रीमा आउने व्यक्तिहरु मध्ये पनि अधिकांश बुढा समुहकै रहेपछि जेनजीहरु असन्तुष्ट बनेका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा मन्त्री बनाएका  गृहमन्त्री ओमप्रकाश अर्याल ५० वर्ष पुगिसकेका छन् ।  यस्तै ऊर्जा, जलश्रोत सिचाई, भौतिक पूर्वाधार र यातायात तथा शहरी विकास गरी ३ मन्त्रालयको जिम्मेवारी पाएका  कुलमान घिसिङ ५५ वर्ष पुगिसकेका छन् । उनी २०२७ साल मंसिर १० मा जन्मिएका हुन् । 
अर्थ मन्त्रीमा नियुक्त भएका पूर्व सचिव रामेश्वर  खनाल पनि ६९ वर्ष पुगिसकेका छन् । उनी २०१३ सालमा जन्मिएका हुन्।

यसैगरी आइतबार  मन्त्रीमा सिफारिस  भएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पनि ७१ वर्ष  पुगिसकेका छन् । उनी २०११ सालमा जन्मिएका हुन्  । यसैगरी कृषि मन्त्रीमा नियुक्त भएका मदन परियार पनि ६७ वर्ष पुगिसकेका  छन् । यी दुबै जना वृद्ध समूहमा नै परेका छन् । यसैगरी कानुन मन्त्रीमा सिफारिस भएका पूर्व न्यायधीश अनील कुमार सिन्हा पनि ६८ वर्ष  पुगिसकेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस भएका जगदीश खरेल र स्वास्थ्य मन्त्रालयमा सिफारिस भएकी संगीता मिश्रा भने युवा समुहकै रहेका छन् । तर, हाल सम्म समेटिएका मन्त्रीहरुमा जेनजी समूहका युवाहरू भने कोही पनि समेटिएका छैनन् । 

अझै केही मन्त्रालय रिक्त रहेकाले ती मन्त्रालयमा जेनजी समुहकै व्यक्तिहरु लैजानुपर्ने माग युवा जेनजीहरुले गर्दै आएका छन् । विशेष गरी जेनजी समूहमा १९९७ सालदेखि २०१२ सालसम्म जन्मिएका व्यक्तिहरु पर्ने गर्छन् । यस हिसाबले पनि अब बन्ने मन्त्रीमा २५ देखि २८ वर्ष सम्ममा नौजवान जेन्जीहरु समेटिनुपर्ने माग सर्वत्र उठिरहेको छ । 

कसको उमेर कति ?

प्रधानमन्त्री  सुशील कार्की : ७३ बर्ष

अर्थ मन्त्री रामेश्वर खनाल : ६९ बर्ष

ऊर्जा र भौतिक मन्त्री कुलमान घिसिङ : ५५ बर्ष

शिक्षा मन्त्रीमा सिफारिस महावीर पुन : ७१ बर्ष

कानुन मन्त्रीमा सिफारिस अनिल कुमार सिन्हा : ६८ बर्ष

कृषि मन्त्रीमा सिफारिस मदन परियार ६७ बर्षमाथि