तस्बिरमा विपिन जोशी पनि समावेश, अवस्था अज्ञात


काठमाडौं ।

इजरायलसँग युद्धरत् हमासको सैन्य शाखा अल–कस्साम ब्रिगेडले शनिवार सार्वजनिक गरेको ४८ जना बन्धकहरूको तस्बिरमा नेपाली विद्यार्थी विपिन जोशीको फोटो पनि समावेश छ ।

द जेरुसेलम पोस्टका अनुसार गाजा सहरमा इजरायली सेनाले स्थलगत आक्रमणलाई तीव्र पारिरहेको बेला हमासले इजरायलमाथि दबाब सिर्जना गर्न ‘बिदाइ तस्वीर’ भनेर ४८ जना बन्धकहरूको तस्बिर सार्वजनिक गरेको हो । विपिन जोशीको तस्बिर ३८औं नम्बरमा छ । हमासले दुई वर्षअघि अक्टोबर ७ मा इजरायलमा गरेको आतंककारी आक्रमणको क्रममा जोशीलाई पनि बन्धक बनाएको थियो । त्यसपछि जोशीको अवस्था हालसम्म पनि अज्ञात रहेको छ ।

हमासले बिदाई तस्बिर भनेर ४९ जना बन्धकको फोटो सार्वजनिक गरे तापनि ती बन्धकहरू जीवितै छन् वा छैनन् भन्ने खुलाइएको छैन ।सार्वजनिक गरिएको तस्बिरमा सबै बन्धकहरूको क्याप्सनमा ‘रोन अराड’ लेखेर क्रम संख्या दिइएको छ । रोन अराड इजरायली वायुसेनाका नेभिगेटर थिए ।

सन् १९८६ मा अराडको एफ–४ फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा लक्षित क्षेत्रमा नपुग्दै बम विस्फोट भएर क्षतिग्रस्त भएको थियो । उनलाई लेबनानमा शिया लडाकु समूह अमलले बन्धक बनाएर पछि हिज्बुल्लाहलाई सुम्पेको थियो । अल जजिराका अनुसार सन् २०१६ मा इजरायलले उनको मृत्यु भएको बताए पनि उनको वास्तविक अवस्थाबारे कुनै प्रमाण भेटिएको छैन ।

यसअघि हमासले बिहीबार एक वक्तव्यमा जारी गरी भनेको थियो – ‘तपाईंका बन्धकहरू गाजा सहरका विभिन्न टोलहरूमा फैलिएका छन् । नेतन्याहुले हत्या गर्ने निर्णय गरेसम्म तिनीहरूको जीवनको कुनै ग्यारेन्टी छैन । यो अपराधपूर्ण आक्रमण सुरु भएपछि अब कुनै बन्धक, न जीवित न मृत, तपाईंले फिर्ता पाउनुहुने छैन ।’

यो वक्तव्य ‘हमासको सैन्य नेतृत्व’ नाममा सार्वजनिक भएको छ । यसअघि सबै वक्तव्य प्रवक्ता अबु ओबेइदाले गर्ने गरेकोमा अहिले हमासको सैन्य नेतृत्वको नाममा यो फोटो सार्वजनिक हुनुले ओबेइदाको हत्या भएको इजरायली अनुमानलाई थप बल पुगेको द जेरुसेलम पोस्टले जनाएको छ ।

यसैबीच, इजरायली सेनाको १६२औं डिभिजनले गाजा सहरमा स्थल कारबाहीलाई अझ तीव्र बनाएको छ भने सेनाको आक्रमणसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निवासअगाडि बन्धक परिवारहरूले आफ्ना आफन्तहरूलाई फिर्ता ल्याउन दबाब दिँदै प्रदर्शन गरेका छन् ।
इजरायलभित्र दबाब बढ्दै गएको बेला हामासले दिएको नयाँ धम्कीले संकटलाई थप गम्भीर बनाएको छ ।