पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको डे«सको दुरुपयोग गर्ने पक्राउ परेका छन् । २४ गते साँझ जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीसँगै रहेको एपसीको क्वाटरसमेत जलाई त्यहाँ रहेको डे«स लगाएर हिँड्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
केही दिनअघि पक्राउ परेका ती युवालाई सोमबार कास्की जिल्ला अदालतबाट मुद्दासमेत चलाइएको थियो । मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पोखरा आउनेबित्तिकै पोखरामा आगजानी भएका संरचनाहरूको अवलोकन गर्न पुग्नुभएको थियो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय पुग्नुभएको उहाँलाई एसपी श्यामबाबु ओलियाले ब्रिफिङ गर्नुभएको थियो । अहिलेसम्म उनको परिचय गोप्य राखिएको छ । बाँकी आन्दोलनकारीलाई प्रहरी कार्यालय मर्मतपछि मात्र पक्राउ गरिने एसपी ओलियाले मुख्यमन्त्री पाण्डेलाई ब्रिफिङ गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय जलाउने क्रममा एक जना जलेका थिए भने दुई जनालाई गोली लागेको थियो । सोही दिन राती आगो लगाउँदा आफैं जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको हो । जलेका उनलाई दलबहादुर गुरुङले अस्पताल लगेका थिए । चितवनको भरतपुर महानगरपालिका–१० स्थायी घर भएका तामाङ पोखरा–१६ मा बस्दै आएका थिए ।
आन्दोलनकारीले लगाएको आगोमा परी पोखरा–९ नयाँबजार र पोखरा–६ लेकसाइडमा गरी दुई महिलाको मृत्यु भएको थियो । लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा २६ वर्षीया स्वस्थानी खड्काको शव जलेको अवस्थामा भेटिएको थियो । उनी दैलेखकी हुन् । यस्तै, सिन्धुपाल्चोककी ३५ वर्षीया सञ्जु नगरकोटीको नयाँ बजारस्थित ध्रुव थापाले सञ्चालन गर्दै आएको गाडीको सोरुममा जलेको अवस्थामा शव भेटिएको थियो ।
आन्दोलनकारीले जिल्ला प्रहरीसँग वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय छोरेपाटन, नदिपुरमा रहेको प्रहरी बिटलगायत विभिन्न स्थानमा रहेका प्रहरीका बिटमा आगजानी गर्दै हतियारसमेत लुटेका थिए । डोजरसहित कार्यालय जलाउन पुगेका थिए । हिरासतबाट १२५ जना थुनुवा भागेका थिए, जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए । अहिले जिल्ला प्रहरी कार्यालयले क्षतिग्रस्त संरचनाबाटै सेवा दिइरहेको छ भने नागरिकको सहायतामा पुनः निर्माणको कार्य अघि बढिरहेको छ ।











प्रतिक्रिया