काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
चौधरीले भने, ‘आजबाट म नाउपाबाट अलग भएको घोषणा गर्दछु। उन्मुक्ति पार्टीमा म आजबाट हुन्न। अलग अभियानको घोषणा गर्छु। मसँगै मेरा भावना, मेरो आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’
टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका बेला चौधरीले २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी स्थापना गरेका थिए। पार्टी गठनसँगै उनले आफू संरक्षक बनेर पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।
नाउपाले छोटो अवधिमै संघीय संसद् तथा विभिन्न प्रदेश सभामा गरी १६ जना सांसद जितेको थियो। संघीय संसद्मा मात्र ४ जना सांसद प्रतिनिधित्व गर्दै आएका थिए भने सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशसभामा समेत नाउपाको उपस्थिति थियो।
तर पार्टी नेतृत्वमा लगातार विवाद चुलिँदै गएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएर जेलमुक्त भएपछि चौधरी दम्पतीबीचको बेमेल सार्वजनिक भएको थियो। त्यसपछि २०८० पुसमा भएको पहिलो महाधिवेशनमार्फत चौधरी स्वयं अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले त्यसलाई वैधता नदिएको थियो।
यस्तै, २०८२ साउन १४ गते चौधरीले राष्ट्रिय भेला गरेर पत्नी रञ्जितालाई अध्यक्षबाट हटाउँदै पिता लालवीर चौधरीलाई अध्यक्ष नियुक्त गरेका थिए। तर आयोगले लालवीर नाउपाको संस्थापक सदस्य नभएको र राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्र हुने भन्दै त्यस निर्णयलाई पनि अवैध ठहर गर्यो।
लगातारको विवाद र वैधानिक संकटबीच चौधरीले अन्ततः नाउपा छाडेर नयाँ अभियानको घोषणा गरेका हुन्। अब उनको ‘अलग अभियान’ कस्तो रूप लिन्छ भन्ने चासो राजनीतिमा बढेको छ।











प्रतिक्रिया