काठमाडौं।
मंगलवार नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा कैदीहरू आन्दोलन गर्दै भाग्ने क्रम देशव्यापी भएको छ । कैदीहरू लामिछानेलाई छोड्ने तर हामीलाई किन नछोड्ने भन्दै जबर्जस्ती कारागारबाट निस्किएर भाग्न थालेका छन् । बुधबारसम्म विभिन्न जिल्लाका गरी हजारांै कैदीहरू भागे पछि देशव्यापी रूपमा लुटपाट बढ्ने सम्भावना पनि बढेको छ । यसले मुलुकमा अराजकता मौलाएको छ भने राज्यविहीनताको स्थिति देखा परेको छ । प्रहरी प्रशासन जिल्लामा सुरक्षा दिन पूर्ण रूपले असफल हुँदै आएको छ । बुधबार केन्द्रीय कारागार सुन्धाराबाट ३३ सयभन्दा बढी कैदी भागेका छन् । यसै गरी सुनसरीको झुम्का कारागारबाट १५ सय ७५ जना कैदी भागेका छन् । यसरी कैदीहरू भाग्नथालेपछि काठमाडौं उपत्यकालगायत देशभरमा लुटपाट बढ्ने त्रास देखिएको छ ।
रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा कैदीहरूले तोडफोड तथा आगजनी गर्दै भागिरहेका छन् । ‘जेन–जी’ आन्दोलनबाट सिर्जना भएको संकटको फाइदा उठाउँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई रिहा गरिएपछि देशभरका कारागारहरूबाट हजारौँ कैदी बन्दीहरू भागेका हुन् । उनको रिहाइले देशव्यापी रूपमा कारागार विद्रोहको आगो सल्काएको छ ।
बुधबार बिहानैदेखि डिल्लीबजारस्थित कारागार कार्यालय तनावग्रस्त बन्यो । केही कैदीबन्दी भाग्न खोजेपछि बुधबार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । भाग्न चाहने कैदीले नै होहल्ला गरेपछि सेना त्यहाँ पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । कैदीबन्दीले भित्र होहल्ला र आगजनी गरे । सेनाले हाई अलर्ट पोजिसन लिएपछि कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेनाले ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ । मंगलवार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । त्यसै गरी कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट सयौँको संख्यामा कैदी निस्किएका छन् । डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । सुनसरीको झुम्का जेलबाट अधिकांश कैदी भगाइयो । मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म ग¥यो । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको संख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् ।











प्रतिक्रिया