मध्यरातपछि नेपालमा फेसबुक के होला ?


काठमाडौं।

सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको सात दिनको म्याद बुधबार राति १२ बजेदेखि सकिँदैछ । तोकिएको समयमा दर्ता नभएका प्लेटफर्मबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार बुधबार रातिसम्म पनि दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले ‘सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका २०८०’ अनुसार क्रमशः नेपालभित्र निष्क्रिय गराउन सक्छ । सूचीकरणपछि भने तत्काल पुनः सक्रिय गरिने व्यवस्था छ ।

यसअघि भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समयसीमा तोकेर मन्त्रालयलाई सूचीकरणका लागि आह्वान गर्न निर्देशन दिएको थियो । त्यसअनुसार भदौ १२ गते सूचना जारी गरिएको हो । मन्त्रालयले माघ २१, चैत ७ र वैशाख २२ मा पनि सूचनामार्फत दर्ता हुन आग्रह गरिसकेको थियो । तर, अहिलेसम्म भाइबर, टिकटक, निम्बज, विटक र पोपो लाइभ मात्र सूचीकरणमा आएका छन् ।

नेपालमा सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक (९२.६५ प्रतिशत), त्यसपछि ट्विटर (४.१ प्रतिशत), युट्युब (२.४३ प्रतिशत), इन्स्टाग्राम (०.३४ प्रतिशत), लिंङडेन (०.२६ प्रतिशत) र पिन्टरेस्ट (०.१३ प्रतिशत) रहेको छ ।