काठमाडौं ।
मिडिया अलाइन्स नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित एउटा समाचारसँग सम्बन्धित अडियोको श्रोत, अडियो उपलव्ध गराउने व्यक्तिको नाम र सम्पर्क नम्बरसमेत उल्लेख गरेर अडियो उपलब्ध गराउन गरेको पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर समाचारसँग सम्बन्धित सामग्री माग्नु नेपालको संविधान, प्रचलित कानुन र प्रचलित पत्रकार आचारसंहितासमेतको विपरीत रहेको स्पष्ट पार्नुभएको छ । ‘समाचारको गोप्य श्रोतको संरक्षण गर्नु पत्रकार र सञ्चारमाध्यमको कर्तव्य हो ।
सूचना प्रदान गर्ने श्रोतको गोपनियताको रक्षा गर्नु पत्रकार र सञ्चारमाध्यमको परम कर्तव्य हो भन्ने तथ्य नभूलन्, हामी अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ । मिडिया एलाइन्सले त्यस्तो पत्राचार तत्काल फिर्ता लिनसमेत माग गरेको छ । विज्ञप्तिमा सञ्चारमाध्यमहरूलाई सूचना पाउने जनताको अधिकारमा कुनै पनि शक्ति र सरकारका अंग तथा निकायसँग नझुक्न र दबाबमा नपरी भयरहित ढंगले प्रचलित पत्रकार आचारसंहिताको परिधिभित्र रहेर समाचार सम्प्रेषण गर्न आह्वान समेत गरिएको छ ।











प्रतिक्रिया