काठमाडौं ।
राष्ट्रियसभाको विधायन व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयकसम्बन्धी दफावार छलफल तीव्र गतिमा अघि बढेको छ । गत सोमबारदेखि दैनिक भइरहेको दफावार छलफलको गति हेर्दा ऐन अब डेढ साताभित्रै जारी हुने सम्भावना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड छेडखानी गर्दै हटाइएपछि विवादमा परेको सो विधेयकलाई राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान थप गरेर विधेयक पारित गर्ने स्रोतले जानकारी दिएको छ ।
सो विधेयक प्रतिनिधिसभाले राष्ट्रिय सभामा पठाएको दुई महिनाभित्रै संशोधनसहित पुनः प्रतिनिधिसभामा नै पठाउनुपर्ने कानुनी प्रावधान छ । सोअनुसार आगामी १७ भदौभित्र सो विधेयक प्रतिनिधिसभामा पठाउनै पर्ने कानुनी वाध्यता छ । त्यसरी नपठाइए प्रतिनिधिसभाले नै पारित गरेको विधेयकले ऐनको मान्यता पाउँछ ।
त्यसैले राष्ट्रियसभाको विधायन समितिले कुलिङ अफ पिरियडसहितको प्रावधान थप गरी विधेयक प्रतिनिधिसभामा पठाइने तयारी गरिएको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्तले विधायन समितिमा संघीय निजामती विधेयकबारेको छलफलले तीव्रता पाइरहेको बताउनुभयो । सचिव पन्तले दफावार छलफल गर्ने क्रममा हालसम्म दफा १० सम्म पुगेको र अब छिटै सक्ने गरी छलफल अघि बढेको जानकारी दिनुभयो ।
सरकारले संसद्को चालू अधिवेशनसमेत अब छिटै सक्ने गरी गृहकार्य अघि बढाएपछि विधायन समितिले पनि विधेयकमाथिको छलफललाई तीव्रता दिएको हो । सम्भवतः १७ भदौभित्रै राष्ट्रियसभाबाट सो विधेयक संशोधनसहित प्रतिनिधिसभामा जाने र प्रतिनिधिसभाबाट तुरुन्तै पास गर्ने गरी कार्य अघि बढाइएको बताइएको छ ।











प्रतिक्रिया