काठमाडौं ।
चालू आर्थिक वर्ष २०८२|८३ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरूको निक्षेप संकलन घटेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनमा कुल निक्षेप संकलन ६४ खर्ब ७९ अर्ब रुपियाँमा सीमित रह्यो, जुन गत असारको ६५ खर्ब ३१ अर्ब रुपियाँभन्दा ५२ अर्ब रुपैयाँले कम हो ।
बैंकरहरूका अनुसार आर्थिक वर्षको शुरूवातमा निक्षेप संकलन घट्नु स्वाभाविक हो । असार महिनामा सरकारको पुँजीगत खर्च धेरै हुने भएकाले सो अवधिमा बैंकमा निक्षेप बढ्ने गर्छ भने साउनमा अघिल्लो वर्ष सम्पन्न परियोजनाको भुक्तानी र राफसाफका कारण निक्षेप बाहिरिने प्रवृत्ति देखिन्छ । साथै, बजेट खर्च साउनमा पूर्णरूपमा शुरू नभएकाले पनि निक्षेप संकलन घट्ने बैंकहरूको भनाइ छ ।
संघको तथ्यांकअनुसार साउनको पहिलो साता (साउन २ गतेसम्म) निक्षेप १९ अर्ब ७० करोडले घटेको थियो । दोस्रो साता (साउन ९ गतेसम्म) यो कमी ३७ अर्ब ५६ करोड पुगेको थियो । तर साउन १६ गतेसम्म १ अर्ब १७ करोडले निक्षेप बढेको र २३ गतेसम्म झन्डै १८ अर्ब ९० करोडले बढेको देखिएको थियो । अन्ततः साउन ३१ गतेसम्म पुग्दा निक्षेप फेरि घट्दै १५ अर्ब ३ करोड रुपियाँले घटेको संघले जनाएको छ ।
निक्षेपसँगै साउनमा बैंकहरूको कर्जा प्रवाह पनि ११ अर्ब रुपियाँले घटेको छ । तथ्यांक अनुसार साउनमा ४९ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने गत असारमा यो रकम ४९ खर्ब ७५ अर्ब रुपियाँ थियो । साउनको पहिलो दुई दिनमै कर्जा २३ अर्ब ७९ करोडले घटेको थियो । ९ गतेसम्म घटेर ३७ अर्ब ५६ करोड पुगेको कर्जा १६ गतेसम्म ६ अर्ब ३९ करोडले बढ्यो । यस्तै २३ गतेसम्म १२ अर्ब ३९ करोडले बढेको कर्जा साउन ३१ गतेसम्म आइपुग्दा ४ अर्ब १९ करोडले मात्र वृद्धि भएको तथ्यांकमा उल्लेख छ । नेपाल बैंकर्स संघका अनुसार हाल बाणिज्य बैंकहरूको सिडी रेसियो ७५ दशमलव ८३ प्रतिशत रहेको छ ।











प्रतिक्रिया