गण्डकीमा १० स्थानमा एकीकृत करियर बुथ स्थापना


काठमाडौँ।

काठमाडौँ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिच विश्वविद्यालयको साझेदारीमा सञ्चालित शिक्षा प्रणाली कार्यशाला (i-Lab) नेपाल कार्यक्रम अन्तर्गत गण्डकी टिमले प्रदेशका १० स्थानमा एकीकृत करियर बुथ स्थापना गरेको छ ।

यसका लागि गण्डकी प्रदेशका विभिन्न शैक्षिक तथा व्यवसायिक संस्थाहरुसँग समझदारी भएको छ । रोजगारी, सीपमूलक तालिम र करियर परामर्शमा युवाको पहुँच बढाउने उद्देश्यले बुथ सञ्चालन गर्न लागिएको हो ।

करियर बुथ सञ्चालनका लागि छनोट भएका कर्मचारीहरुलाई करियर मोडालिटी, सञ्चालन प्रक्रिया तथा परामर्श प्रणालीबारे पोखरामा अभिमुखीकरण गरिएको छ । सो अवसरमा कर्मचारीहरुलाई बृति विकासमा अपेक्षा गर्ने विभिन्न पाँच प्रकृतिका सेवाग्राहीलाई परामर्श दिन सक्ने गरी क्षमता अभिवृद्धि गरिएको थियो ।

आइल्याब गण्डकीकी संयोजक कविता तिवारी गैरेका अनुसार, नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमलाई सुदृढ बनाउन कार्यक्रमले टेवा पुर्‍याउनेछ । काठमाडौँ विश्वविद्यालयले आह्वान गरेको निवेदनको आधारमा गण्डकी प्रदेश टिम छनोट भएको एन्बीक्यूएस परियोजना गण्डकीका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

गण्डकी प्रदेशका रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका स्याङ्जा, माछापुच्छ्रे गाउँपालिका कास्की, पोखरा प्राविधिक शिक्षालय फुलबारी पोखरा, किसान प्राविधिक शिक्षालय स्याङ्जा, उद्योग वाणिज्य महासंघ गण्डकी र पोखरा भ्याली टेक्निकल इन्स्टिच्युट रानीपौवा गरी १० संस्थामा बुथ स्थापना गरिएको छ ।

व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरका कार्यकारी निर्देशक नवराज अधिकारीले करियर बुथमार्फत युवाले रोजगारी, सीपमूलक तालिम र करियर परामर्श लिन सक्ने भएकाले अवसर विस्तार हुने विश्वास व्यक्त गरे ।