देशभर श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाइँदै


काठमाडौँ ।

भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा आज मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामसँग मनाइँदै छ। बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको लामो लाइन लागेको छ।

हिन्दू धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रवर्तक श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन्।

श्रीमद्भागवत गीता दिने, धर्मको स्थापना गर्ने र अन्यायको अन्त्य गर्ने श्रीकृष्णको योगदान स्मरण गर्दै आजको रातलाई मोहरात्रिका रूपमा लिइन्छ।

गोपिनी र राधासँगको प्रेम कथाका कारण यो महिना झुला उत्सवका रूपमा पनि मनाइन्छ। भारतको मथुरा, वृन्दावन, गोकुल र द्वारकाजस्ता स्थानमा समेत विशेष कार्यक्रमसहित पर्व मनाउने गरिन्छ।