विदेश रोजगार ठगीको मुद्दामा फरार अभियुक्त प्रकाश भट्टराई पक्राउ


काठमाडौं ।

विदेश रोजगारको नाममा ठगी गरेको आरोपमा लामो समयदेखि फरार रहेका प्रकाश भट्टराईलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्याङ्जा, गल्याङ नगरपालिका–११ घर भएका भट्टराईविरुद्ध विष्णु प्रसाद खनालको जाहेरीमा वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर दर्ता भएको थियो। उनले आकर्षक रोजगारीको प्रलोभनमा पारेर रकम असुली गरेका थिए।

प्रहरीको भनाइअनुसार, हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर क्षेत्रमा लुकीछिपी बसिरहेको सूचनाको आधारमा भट्टराईलाई २०८२ साउन २९ गते महानगरपालिका–३१, बानेश्वर क्षेत्रमा फेला पारिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।