इश्रा मुल्ला मियाँलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो।

हज कमिटीको अध्यक्षमा नियुक्त भएपछि मियाँले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका थिए। बैठकले रिक्त पदहरूमा मनोनयन गर्दै विभिन्न विभाग तथा समितिहरूका जिम्मेवारी पनि तोकेको छ।

निर्णय अनुसार केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा, मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल, बारा र पुनम शाहलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, ललित श्रेष्ठलाई केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको प्रमुखमा मनोनित गरिएको छ।

पार्टी प्रवक्ता मनिष झाले बैठकले रणनीतिक समूह गठन, संगठन विस्तार र सशक्तीकरणका लागि केन्द्रीय समिति तथा विभागीय सदस्यहरूलाई जिल्लास्तरमा परिचालन गर्ने निर्णय गरेको बताए। साथै, विदेशमा रहेका नेपालीका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।