राप्रपा भिजिट भिसाको विरोधी होइन : राप्रपा सांसद कार्की


काठमाडौँ ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले आफूहरू भिजिट भिसाको विरोधी नभएको बताएकी छिन् । ‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौं, भिजिट भिसाको विरोधी होइनौ,’ उनले भनिन् ।

भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर संसद् बहिस्कार गर्दै आएको राप्रपाको तर्फबाट बोल्दै सांसद कार्कीले भिजिट भिसाको नाममा भएको अनियमितताको विरोध गरेकी हुन् ।

कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेचिएको दाबी गर्दै बेचिएकाहरू अनेक दुःख पाएर लास बनी नेपाल फर्किरहेको उनले जनाएकी हुन्।

 ‘नेपाली दाजुभाइ दिदीबहिनी विदेशबाट लास बनी फर्केर आउँदा मुटु  गृहमन्त्रीको काँप्दैन ? । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर नबेच, लास बनेर फर्किने अवस्थाको अन्त्य गर,’ उनले संसदमा भनिन् ।