काठमाडौं ।
रुसको सुदूरपूर्वी टिन्डा सहरनजिकै बिहीबार बेपत्ता भएको यात्रुवाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । रुसी आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार सबै ५० जनाको मृत्यु भएको पुष्टि भएको छ ।समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार विमानसँग बिहीबार हवाई ट्राफिक नियन्त्रकहरूको सम्पर्क टुटेको थियो । प्रारम्भिक विवरणअनुसार, विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र चालक दलका ६ जना सदस्य सवार थिए । विमान अमुर क्षेत्रको टिन्डा सहरतर्फ जाँदै गर्दा राडारबाट हराएको थियो । सो क्षेत्र चीनको सीमासँग नजिक पर्छ ।
उद्धारकर्ताहरू तत्कालै दुर्घटनास्थलमा पुगेका थिए, तर कसैलाई जीवित अवस्थामा भेटिएको थिएन ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत् घटनाबारे जानकारी दिँदै लेख्नुभएको छ–‘विमान दुर्घटना पुष्टि भएको छ । यस दुःखद् घटनामा सबै यात्रुको ज्यान गएको छ ।’ उहाँले घटनास्थलमा जारी उद्धार प्रयास र अनुसन्धानबारे थप विवरण पनि सार्वजनिक गर्ने बताउनुभएको छ ।
विमान कुन एयरलाइन्सको थियो र यसको प्रस्थान बिन्दु तथा गन्तव्यबारे भने अझै स्पष्ट विवरण आउन बाँकी रहेको बताइएको छ । सरकारी अधिकारीहरूले घटनाको गम्भीरता बुझ्दै विस्तृत अनुसन्धान शुरू गरिसकेका छन् ।
रुसी नागरिक उड्डयन निकाय, उद्धार तथा सुरक्षा निकायहरू घटनास्थलमा सक्रिय रहेका छन् । दुर्घटनाको कारण मौसमजन्य, प्रविधिक त्रुटि वा मानवीय गल्तीमध्ये के थियो भन्ने विषयमा हाल अनुसन्धान जारी छ ।











प्रतिक्रिया