काठमाडौं।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने विचार व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन हस्तान्तरण गर्ने विहीबार नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीसंग कुराकानी गर्दै उनले सो धारणा राखेका हुन् । ‘बहुजातीय, बहुभाषिक नेपालमा राज्यप्रति सबैको अपनत्व, संघीयताको प्रवर्द्धनका लागि मातृभाषाको पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ । सम्मेलनले भूमिकालाई उजागर गरेको छ ।’ सभामुख घिमिरेले भने।
उनले सम्मेलनले निकालेको निष्कर्ष, उठान गरेका बहसहरुलाई कानुन निर्माणमा, राज्यको व्यवहारमा कार्यान्वयन गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता थियो। ‘ देशीविदेशी पत्रकारहरूको सहभागितामा तपाईंहरूले सम्पन्न गर्नुभएको सम्मेलनको आफ्नै महत्त्व र विशेषता छ । यसबाट आएको निष्कर्ष कार्यान्वयन गर्ने क्षेत्रमा पुरा सहयोग गर्ने छु । ’
पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० गते शुक्रबार र ३१ गते शनिबार आयोजना गरेको सम्मेलनमा बंगलादेश, भारतका विभिन्न प्रान्त र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको सहभागिता रहेको थियो। सम्मेलनले समावेशी पत्रकारिताको विकास, समग्र पत्रकारिताको विकासमा मातृभाषा पत्रकारिताको महत्व र आवश्यकता विविध निष्कर्ष निकालेको थियो।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर तथा सदस्यद्वय पूर्णभक्त दुवाल र विकास माली लगायतको सहभागी थिए । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरू गरेको सय वर्ष पुगेको उपलक्ष्यमा पत्रकार राष्ट्रिय दबूले सम्मेलन गरेको थियो । समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकास तथा पत्रकारको हकअधिकारको लागि पत्रकार राष्ट्रिय दबूले १३ वर्षदेखि निरन्तर वकालत गर्दै आएको छ । देशभर २९ जिल्ला शाखा रहेको संस्थाले पत्रकारहरूको क्षमता अभिवृद्धि, सांस्कृतिक पत्रकारिताको लागि एजेन्डा सेटिङ गरी मिसन जर्नलिज्म गर्दै आएको छ । यसअघि गतवर्ष भुटान, बंगलादेश, भारत र नेपालका पत्रकार सहभागी गराएर कार्यक्रम गरेको थियो ।











प्रतिक्रिया