काठमाडौँ।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर ज्ञापनपत्र पेश गरेको छ । अख्तियारले भने राप्रपाको ज्ञापन पत्रलाई उजुरीको रुपमा दर्ता गरिदिएको छ । अध्यक्ष लिङ्देनको नेतृत्वमा कार्यकर्ताहरु तामझामका साथ अख्तियारको केन्द्रीय कार्यालय पुगेका थिए ।
उनीहरुले सबै भ्रष्टाचारको छानबिन गर्न माग गरिएको ज्ञापन पत्र प्रमुख आयुक्तलाई बुझाउन खोजेपनि अख्तियारले त्यसलाई उजुरीको रुपमा दर्ता गरिदिएको हो । जस अनुसार सो ज्ञापन पत्र सी ३००९४७ नम्वरमा दर्ता भएको बताइएको छ ।
राप्रपाले पेश गरेको ज्ञापन र अख्तियारमा दर्ता भएको उजुरीमा नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको, आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी,मुद्दाको संख्या र दावी रकम बढ्दै गएको अवस्थाले भ्रष्टाचार व्यापक भएको पुष्टि भएको र केन्द्र, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा जस्तो देखिएको र अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको दावी गरिएको छ ।
‘सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन् ।’ ज्ञापन पत्रमा भनिएको छ ।
त्यस सम्मानित आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरु प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानवीनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको जनाउँदै राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न नसकिने दावी गरिएको छ ।
‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो“ भन्ने मान्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीको दृढ विश्वास छ र हामी सँधै भ्रष्टाचार र भ्रष्टाचार जन्य क्रियाकलापको विरुद्धमा छौँ ।’ज्ञापन पत्रमा भनिएको छ ।
निकट विगतको नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरुको अडियो प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना भएको उल्लेख गर्दै राप्रपाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौं कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठूला भ्रष्टाचार काण्डहरुमा अनुसन्धान र कारवाहीलाई द्रुत गति दिन माग गरेको छ ।











प्रतिक्रिया