काठमाडौं।
नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी र विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्युत उत्पादक संघ (इप्पान) को २३ औँ वार्षिक साधारणसभामा देउवाले लगानीकर्तालाई दुःख दिने होइन, सहज वातावरण तयार पार्नुपर्ने धारणा राखे।
“दुःख दिने भन्ने कुरा हुँदैन, स्वदेशी र विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ,” देउवाले भने।
उनले जलविद्युत् क्षेत्रमा निजी लगानी भित्र्याउन कांग्रेसको भूमिका रहेको भन्दै लोडसेडिङ अन्त्य गर्न योगदान गरेको पनि स्मरण गरे। “शैलजा आचार्यकै कारण निजी लगानीकर्ताले वातावरण पाए, लगानीको वातावरण बनेको हो। म प्रधानमन्त्री हुँदा पहिलोपटक ३९ मेगावाट विद्युत भारत निर्यात भएको थियो,” उनले उल्लेख गरे।
निजी क्षेत्रलाई विस्थापित गर्ने काम नगरौं : इप्पान अध्यक्ष कार्की
कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासका लागि सरकारको नीति महत्वपूर्ण भएको बताए। उनले सरकारले ‘सरकारको साथ, निजी क्षेत्र चालक’ नारा दिनुपर्नेमा उल्टै सरकारी निकायकै कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएको गुनासो गरे।
उनले बजेटमा आएको ‘टेक एन्ड पे’ प्रावधान, दुई वर्षदेखि रोकिएको आईपीओ, राष्ट्रिय निकुञ्ज क्षेत्रमा आयोजना निर्माणमा लगाइएको प्रतिबन्धजस्ता कारण अर्बौं लगानी जोखिममा परेको बताए। उनका अनुसार हाल निजी क्षेत्रले ३४ हजार ४८४ मेगावाट क्षमताका ७२५ आयोजना अघि बढाइरहेको छ। तर, सर्वोच्च अदालतको आदेशका कारण १९ हजार मेगावाट क्षमताका २१७ आयोजना निकुञ्ज तथा वन क्षेत्रमा रोकिएका छन्।











प्रतिक्रिया